मनै लोभ्याउने बारिल झरना ओझेलमा

मनै लोभ्याउने बारिल झरना ओझेलमा

बझाङ : बझाङमा पर्यटकहरूलाई आकर्षित गर्ने थुप्रै प्राकृतिक सुन्दरताका गन्तव्य छन । पर्यटकहरूलाई आकर्षित गर्ने हिमाल, ताल तलैया, समथर फाँट, झरना लगायत पर्यटन गन्तव्यको प्रचार प्रसार हुन नसक्दा बझाङका अधिंकास पर्यटकिय स्थलहरु ओझेलमा परेका छन । ओझेलमा परेको आर्कषक गन्तव्य मध्येको एक हो, बारिल झरना । जिल्ला सदरमुकाम नजिकै रहेको यो झरनाका बारेमा सदरमुकामवासी पनि अनभिज्ञ छन । 

जयपृथ्वी नगरपालिका वडा नं ९ को बारिलमा पर्ने झरनाको प्रचार नहुँदा ओझेलमै छ । संघ, प्रदेश र स्थानीय सरकारहरूले पर्यटन विकासको नाममा मन्दीर निमार्ण तथा मर्मतमा करोडौं रकम खर्च गरेका छन । तर बाहिरी जिल्लाबाट आउने र छोटो अवधिका लागि बस्ने पर्यटकहरुका लागी भने घुम्ने र हेर्ने ठाउँको अभाव छ । 

चारैतिर घना जंगल अग्ला अग्ला डाँडा र तिनै डाँडाको मध्ये भाग भएर खस्ने बारील झरना आफैमा निकै मनमोहक छ । चराहरुको चिरविर चिरविर आवाज संगै झरनाको मन्द चिसो र आवाजले जो कोहिलाई पनि आर्कषित गर्दछ । प्राकृतिक रूपमा निकै सौन्दर्य बोकेको बारिल झरना करिब ३०० मिटर लम्बाइ रहेको छ ।

सदरमुकाम चैनपुरबाट ५ किलोमिटरको दूरीमा रहेको बारील झरना सौन्दर्यताका हिसावले पर्यटकीय क्षेत्र बनाउन सकिने निकै सम्भावना रहेको छ । प्राकृतिक सौन्दर्यता बोकेको बारील झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय निकाय तथा प्रदेश सरकारलाई स्थानीयबासीले माग गरेका छन् ।

हिँउदको समयमा झरनामा पानी मात्रा कम हुने भए पनि बर्षातमाभने निकै रमाईलो देखिने गरेको छ । समयमै संरक्षण र सम्वर्दधन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यको रुपमा चिनाउन सकिने प्रचुर सम्भावना रहेको स्थानीयहरुको भनाई छ ।  

जिल्ला बाहिर बाट सदरमुकाम चैनपुर सम्म आउनेहरु पर्यटकीय क्षेत्र बारील झरनाको अवलोकन गर्ने गर्दछन् । बारिल झरना पछिल्लो समयमा विभिन्न संघसंस्था र विद्यालयबाट जाने बनभोजको कार्यक्रमको स्पट बन्दै गएको छ । बाहिरबाट झरना हेर्न आउनेहरुको संख्या बढदै गए पनि झरना सम्म पुग्ने बाटो देखाउने साइन बोर्डसम्म छैन ।

पूर्वाधार नभएकाले अवलोकनमा आउनेहरूले पनि निकै सास्ती भोग्नु परेको छ । झरना सम्म पुग्न बाटो देखाउने संकेतहरू नहूँदा घुम्न आउने लाई समस्या हुने गरेको स्थानिय शंकर बोहराले बताए । झरना सम्म पुग्न सडकको ट्याक खोलेको भए पनि यात्रा गर्न कठिन हुने गरेको छ । झरना नजिकै पिकनिक स्पट बनाएको भए पनि व्यवस्थीत गर्न नसक्दा घुम्न आउनेहरुले सास्ती खेप्नु परेको छ ।

यस झरनाको प्रवर्द्धनको लागस् स्थानिय तहले योजना अघि बढाए यहाँका स्थानियहरुलाई रोजगारीको सम्भावना रहेको उनको भनाइ छ । बारिल मात्र होईन जिल्लामा प्रशस्त पर्यटकिय सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्रमा स्थानिय सरकारले चासो देखाएको छैन । स्थानिय तहको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसमा विशेष जोड दिनुपर्ने भए पनि पर्यटन विकासमा स्थानिय सरकारको शुन्य लगानी रहेको पर्यटन अभियन्ता किशोर खडकाले बताए ।

उनले भने आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि स्थानिय तहले पूर्वाधार तयार गर्नुपर्ने आवश्यक देखिन्छ । बसोबासको व्यवस्था, स्थानीय परिकार सहितको खानाको व्यवस्था, सरसफाई, भौतिक पूर्वाधारहरु पर्यटकलाई आकर्षित गर्ने आधार भएकाले स्थानिय सरकारले विशेष ध्यान दिनु पर्ने उनको भनाई छ । 

स्थानिय तहले पर्यटन विकासका नाममा बर्षेनी रकम मन्दिर निमार्ण र मर्मतको नाममा दुरुपयोग भईरहेको छ । स्थानीय सरकारले आ–आफ्ना क्षेत्र भित्र रहेका मठमन्दिरको संरक्षणमा ठुलो बजेट खर्च गरिरहेको नेपाल पर्यटन पत्रकार समुहका जिल्ला अध्यक्ष रमेश केसीले बताए । उनले भने अधिकांस स्थानिय तहलाई पर्यटन विकासका लागी के गरिरहनु भएको छ भनेर सोध्दा आउने सहज उत्तर हो, मठमन्दीर संरक्षण तथा मर्मत गरिदैछ ।

मठ मन्दिर मर्मत तथा संरक्षणका नाममा बझाङका करोडौ खर्च भईरहेको छ । तर त्यसको उपलब्धी भने शुन्य छ । यो रकमले हामी गतिलो पुर्वाधार निमार्ण गर्न सक्थ्यौ’ स्थानिय सरकार संग पर्यटन सम्बन्धि स्पष्ट कार्यक्रम नभएका कारण जिल्लाको पर्यटन विकासले गति लिन नसकेको उनको भनाई छ । 

बारील झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधार निर्माण गर्ने योजना नगरपालिकाको रहेको छ । बारिल झरनाको प्रचार प्रसार तथा संरक्षणको लागि स्थानिय सरकारले योजना अघि बढाई सकेको  जयपृथ्वी नगरपालिका वडा नं ९ का वडाध्यक्ष नवराज कोइरालाले बताए । उनले भने बारिल झरनाको संरक्षणका लागि वृक्षरोपण गर्ने र सामुदायिक वनका रूपमा विकास गर्ने बारे नीतिगत छलफल भई रहेको छ । हामीले बारिल झरना सम्म जाने सडकको ट्रयाक खोली सक्यौँ । झरना नजिकै टहराहरु पनि निमार्णको क्रममा छन । अहिले धेरै जसो मानिसहरु वनभोजका लागी बारिल झरनामै आउने गरेका कारण खानेपानीको पनि व्यवस्थापनमा जुटेका छौँ ।

यस क्षेत्रमा स्कि, र्याफ्टिक, रक कलाइमिङ, प्यारागलाइडिङ जस्ता खेलको विकास गर्न सकिने सम्भावना भएको भए पनि विकास हुन सकेको छैन । बारिल झरनाको प्रचार प्रसार तथा पुर्वाधारका विषयमा स्थानिय सरकारले लगानी गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई बन्न सक्ने प्रबल समभावना रहेको छ ।