धनगढीका सडकमा पनि सवारी साधनको चाप बढ्यो, कोरोनाको त्रास कायमै

धनगढीका सडकमा पनि सवारी साधनको चाप बढ्यो, कोरोनाको त्रास कायमै

धनगढी : कोरोना भाईरस रोकथामका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउन अन्त्य भएसँगै धनगढीमा पनि सवारी साधनको चाप बढेको छ । सरकारले झण्डै चार महिनापछि मंगलबार लकडाउन अन्त्य भएको घोषणा गरेको थियो । योसँगै आजभोली सडकमा सवारी साधनको चाप बढेको छ ।

यसअघि असार १ गते सरकारले लकडाउन खुकुलो बनाउँदै निजी सवारीसाधन जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर त्यो प्रणाली हटेसँगै बुधवार देखि सम्पुर्ण सवारी साधन चल्न थालेका छन् । धनगढीका मुख्य सडकहरुमा सवारी साधनको भीडभाड बढेको छ ।

सार्वजनिक यातायात र जोर बिजोर प्रणाली हटेसँगै सडकमा सवारीसाधनको चाप देखिन थालेको धनगढीका स्थानीय गणेश विनाडीले बताए । नेपाल लगायत छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेकै बेला यसरी सवारी साधन सञ्चालन गर्नु उचित नभएको उनले बताए ।

सरकारले लकडाउन अन्त्य गरेपनि अव नागरिकहरुले नै सचेत भएर आफ्नो सुरक्षा आफै गर्नु पर्ने उनको सुझाब छ । यात्रा गर्दा पनि सुरक्षाका सामाग्री सहित यात्रुहरुले यात्रा गर्नु पर्ने उनको भनाई छ । कोरोनाको संक्रमण फैलिएकै बेला सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नहुन धनगढीका रोहित बि.सीले बताए ।

लकडाउनको मात्रै अन्त्य भएको तर कोरोनाको संक्रमण अन्त्य नभएकाले सबैलालाई सचेत रहन उनले आग्रह गरे । जथाभावी यात्रा नगर्न र यात्रा गर्नै परे सुरक्षाका सामाग्री सहित यात्रा गर्न उनले नागरिकहरुलाई सुझाब समेत दिएका छन ।

एकातिर कोरोना भाइरस संक्रमणको जोखिम हटिसकेको छैन भने अर्कोतिर सडकमा चाप बढेपछि कोरोना संक्रमण फेरी तिब्र रुपमा बढ्न सक्ने विज्ञहरु बताउँछन । यसरी सडकमा सवारी साधनको चाप बढ्न थालेपछि ट्राफिकलाई समेत व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।