उत्तर कोरियामा देखियो कोरोनाको पहिलो संक्रमण

उत्तर कोरियामा देखियो कोरोनाको पहिलो संक्रमण

उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि किम जोङ उनले आकस्मिक बैठक आइतवार बोलाएको उत्तरको सरकारी समाचार संस्था केसीएनएले खबर दिएको छ ।

संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया पसेको बताइएको छ । उक्त व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर भागेको बताइन्छ । 

उसलाई स्वास्थ्य जाँचबुझ गरिएको र क्वारेन्टीनमा राखिएको र उससँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टीनमा राखिएको बताइएको छ । 

किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् र उक्त क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । 

देशको सेन्ट्रल मिलिटरी कमिसनले संक्रमित व्यक्तिलाई अवैध रूपमा देश प्रवेश गर्न दिनमा जिम्मेवार इकाइको खोजी गर्ने र कठोर दण्ड दिने जनाएको छ ।