बर्षायाम संगै बझाङका अधिकांस ग्रामिण सडक अवरुद्ध

बर्षायाम संगै बझाङका अधिकांस ग्रामिण सडक अवरुद्ध

बझाङ : लगातारको वर्षाका कारण बझाङका दर्जनौं ग्रामीण सडक अबरुद्ध भएका छन । बर्षाका कारण पहिरो गए पछि बझाङको आन्तरिक यातायात अवरुद्ध भएको छ ।

बर्षाले जिल्लाका विभिन्न स्थानिय तहमा संचालनमा आएका ग्रामिण सडकहरुमा यातायातका साधन चल्न सकेका छैनन । बर्षाका कारण थलारा गाँउपालिका जोडने ग्रामिण सडक, मौरीबगर दुर्गाथली, भाँडे छविसपाथीभेरा, चैनपुर तल्कोट, चैनपुर मष्टा, तमैल खप्तडछान्ना लगायतका स्थानिय तहका केन्द्र जोडने दर्जन भन्दा बढी ग्रामिण सडक अबरुद्ध भएका छन ।

जिल्लाका सबै स्थानिय तहमा सडक संजाल जोडनका लागी ट्रयाक खुले लगत्तै हिउदको समयमा यातायात सञ्चालनमा ल्याइएका सडक बर्षा लागे संगै अवरद्ध भएका हुन । यस्तै पहिरोका कारण बझाङको ताक्लाकोट सडक खण्ड पनि अवरुद्ध भएको छ । लगातारको बर्षाका कारण ताक्लाकोट सडक खण्डको कपडे र सुनीकोटमा ठुलो पहिरो गए पछि सडक अवरुद्ध भएको हो । सडकमा पहिरो खस्दा सवारिका साधनहरू चल्न सकेका छैनन् । ठाँउ ठाँउमा पहिरो गए पछि तल्कोट र सदरमुकाम चैनपुरबाट छुटेका साना सवारी साधन बीच बाटोमै नै अलपत्र अवस्थामा रहेको स्थानिय भरत कडायतले बताए । ग्रामिण सडक अवरुद्ध भए संगै गाँउमा दैनिक उपभोग्यका सामानको अभाव हुन थालेको उनको भनाई छ ।

जिल्ला समन्वय समिति बझाङका अध्यक्ष खडक बहादुर खडकाले वर्षाले ग्रामीण सडक भत्किनुका साथै दर्जनौं स्थानमा पहिरो गएपछि जिल्लाको आन्तरिक यातायात अबरुद्ध भएको बताए । जिल्लाका सबै स्थानिय तहले आफ्नो केन्द्र सम्म जोडन  र जिल्ला सदरमुकाम तथा मुख्य राजमार्ग जोडन ग्रामिण सडक संचालनमा ल्याएको भए पनि बर्षातमा समस्या हुने गरेको उनको भनाइृ छ ।

ग्रामिण क्षेत्रमा सडक संजाल संग जोडने लक्ष्य लिएको भए पनि मापदण्ड अनुसारका नहुूदा हरेक वर्षायाममा सवारी सञ्चालनमा कठिनाई हुँदै  आएको छ । सरकारी मापदण्डविपरीत र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गरिँदा हरेक बर्षायाममा यी सडक अवरुद्ध हुँदै आएका छन् ।