कंचनपुरमा नक्कली अंसियार खडा गरेर जमिन किनबेच

कंचनपुरमा नक्कली अंसियार खडा गरेर जमिन किनबेच

साउन १५,कंचनपुर ।
कंचनपुरमा मालपोत कार्यालयका  कर्मचारीहरुकै मिलेमतोमा बेदकोट नगरपालिका १० चटहरीका मांङलीदेवि रावल, देव बहादुर रावल र धन बहादुर रावलको नाममा रहेको जमिन नक्कली अंसियार खडा गरेर किनबेच भएको छ । 

 गाउँकै बिपिन प्रकास पाण्डेयले ६ बर्ष अघि रावल परिवारको जमिन दृष्ट्रिबन्धकीमा राखेर २ लाख पचास हजार  ब्याजमा ऋण लिएका थिए । ऋण लिएको मौका पारी  पाण्डेयले ४ कट्टा १८ धुर जमिन नै आफ्नो नाममा नामसारी गरेका छन्  ।
दृष्ट्रिबन्धक भन्नाले कुनै अचल सम्पत्ति धितो राखी इच्छा माफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याज समेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्दा लेखिदिने तमसुक हो । दृष्टि (समा धनीका नाममा जग्गाजमिन धितो राखे पनि सो धितो ऋणीले नै चलनचल्ती गरेको हुन्छ ।) दृष्ट्रिबन्धक तमसुक बनाउनुपर्ने भएपनि सिधै जमिन धनीले ऋणीको जमिन आफ्नै नाममा अंशियार उपस्थित नहुँदै गरेपछि गैर कानुनी भएको पाइएको छ। ०७१ सालमा पाण्डेयले माङलीदेवी र उनका जेठा छोरा धन बहादुर रावललाई मालपोत कार्यालयमा ल्याएर दृष्ट्रिबन्धकीको कागज बनाउनुपर्नेमा जमिन रजिष्ट्रेशन अर्थात बेचबिखनको कागज बनाएर आफ्नो नाममा जमिन हालेको देखिन्छ  । जुन व्यक्तिको नाममा लालपुर्जा छ, ति सबै व्यक्तिले बेचबिखनको मञ्जुरी दिनुपर्ने र स्वयम नेपाली नागरिकता सहित उपस्थिति हुनुपर्ने भएपनि माङलीदेवीका कान्छा छोरा धन बहादुरको अनुपस्थितिमा नै जमिन नामसारी गरेको पाईएको छ । धनबहादुर  बहादुर रोजगारीका लागि भारत गएका थिए । ‘म १० बर्षदेखि भारतमा मजदुरी गर्दै आएको छु, ‘धन बहादुर रावलले भने, ‘आमा बित्नुभयो, घर आए, दाजुको दुखत निधन भयो, त्यसपछि असारमा आएर विपिन प्रकास पाण्डेयले घर खाली गर भन्न थालेपछि आफ्नो अनुपस्थितिम जमिन बिक्रि भएको थाहा पाएको बताए । 
‘आमा र दाजुसंग २ लाख ५ हजारको लेनदेन कारोबारमा पाण्डेयले जमिन नै हडपेका रहेछन, ‘उनले भने, ‘आफ्नो नाममा हालेर अर्कोलाई बेचिदिएका छन ।’ 
आफ्नैजमिनबाट घर खाली गर भनेपछि आश्चर्य लागेर मालपोत कार्यालयमा बुझ्न आउँदा पाण्डेयले आफ्नो ठाँउमा नक्कली मान्छे खडा गरेर जमिन नामसारी गरी बिक्रि वितरण गरेको थाहा भएको उनले बताए । ‘मेरो दाजु र आमालाई झुक्याएर जमिन आफ्नो नाममा नामसारी गरेका रहेछन, ‘धन बहादुर रावलले भने, ‘गरिबमाथि गाँउमा साहुमहाजनले ऋण दिएकै घरमा उठिबास गराए ।’ दृष्ट्रिबन्धकीको कागज बनाउनुपर्नेमा जमिन नै नामसारी गरिएको भन्दै उनले घुसलिएर नक्कली अंसियार खडा गरेर जमिन पास गराउने कर्मचारीमाथि उनले कार्बाहीको माग अघि सारेका छ्न । पैसाका लागि  मालपोतका कर्मचारीले कसैको उठिबास सम्म गराउन तयार हुदा रहेछ्न भन्ने कुराको गतिलो उदाहरण रावल परिवार हो
। 
साहु पाण्डेयले ०७१ सालमा रावल परिवारको दृष्ट्रिबन्धकीमा राखेको जमिन आफ्नो नाममा हालेको दोस्रो बर्ष ०७२ मा काँसिसिह भण्डारीसंग बिक्रि गरेको पाईएको हो । 

 सुकुमबासी समस्या समाधान आयोग मार्फत  रावल परिवारले ०५५ सालतिर  १० कट्टा जमिनको लालपुर्जा पाएका थिए । 
माङलीदेवीका श्रीमान आईते रावलको देहान्त पछि छोरा धन बहादुर रावल, देव बहादुर रावल र माङलीदेवीको नाममा उक्त जमिन संयुक्त लालपुर्जा बनाईएको थियो । जमिनधनी अर्थात धनबहादुरका बुवा आईते रावलको १२ बर्ष अघि मृत्यु भएपछि दुई छोरा सहित आमाको नाममा जमिन नामसारी भएको थियो ।
 जसमध्ये ३ कट्टा जमिन उनीहरुले कठायतसंग २ र नायकसंग १ कट्टा जमिन बिक्रि गरेका थिए । दुर्भाग्यवश यसै बर्ष ०७७ जेठमा माङलीदेवी रावल(आमा) र असारमा देव बहादुर रावल (छोरा)को मृत्यु भएपछि साहु पाण्डेयले धन बहादुर रावलसंग जमिन खाली गर्न भनेर दवाव दिएपछि जमिन  किर्ते काम गरि  बिक्रि वितरण गरेको पाईएको हो । आफू  भारतमा रहदै आएको र  जेठमा आमाको मुत्युभएसंगै लकडाउन विचमा घर आएको धन बहादुर रावलले बताए । उनले भने, ‘आमाको मृत्युपछि दाजुको पनि मृत्यु भयो, त्यसपछि पाण्डेयले यो जमिन बिक्रि भईसकेको र घर उठाउँनुपर्छ भनेर दवाव दिन थालेपछी मेरो नाममा भएको जमिन कसरी साहु पाण्डेको भयो भनेर मालपोतमा खोजिनीति गरेको हु ।'  
 ‘आफ्नै नाममा भएको जमिन, हेर्दा हेर्दै अर्कोका नाममा भईसक्यो, उनले भने, ‘भएको जमिन नक्कली अंसियार खडा गरेर अर्काकै भयो ।’ 

स्थानीय तथा  रावलका आफन्त जय बहादुर रोकायाले दृष्ट्रिबन्धकी राखेको जमिन आफ्नै नाममा हालेर अर्कालाई बेच्नु अन्याय भएको बताए । ‘कर्मचारी र साहु मिलेपछि गरिबको जमिन हडप्न केही बेर लाग्दैन, ‘उनले भने, ‘अंसियार नहुँदा नहुँदै कसरी जमिन नामसारी भयो ।’ गरिबलाई लुटन कर्मचारी र गाँउका साहुमहाजनले के के न गर्दा रहेछन् भन्ने कुरा प्रष्ट भएको उनले बताए । 
 
दृष्ट्रिबन्धकीमा राखेको जमिन झुक्याएर  किर्ते गरेर आफ्नै नाममा हालेपछि विपिन प्रकास पाण्डेयले ०७२ सालमा बैतडी पुचौडी डिलाशैनीका काँसिसिह भण्डारीलाई बेचिदिए । 
 काँसिसिहका छोरा राम भण्डारीले ५ बर्ष अघि जमिन खरिद गरेपनि ३ बर्ष अघि मात्रै घर लगाएर बसेको बताए ।
 ‘यो जमिन यस्ते लफडावाला होला भनेर हामीलाई थाहै थिएन, ‘उनले भने, ‘हामीले पाण्डेसंग १० लाखमा किनेका हौँ, आज आएर मात्रै लफडावाला जमिन भएको थाहा भयो ।’ हामीलाई लागत र त्यसयताको ब्याज दिए जमिन छोड्न तयार रहेको उनले बताए । किर्ते गरेर जमिन बिक्रि वितरण गरेपछि धन बहादुर रावलले मुद्दा दिने तयारी गरेपछि भण्डारी परिवार अन्यौलमा परेको छ। 
रावल परिवारमाथि अन्याय भएको भन्दै स्थानीय सरकार र छिमेकीले साथ दिने बताएका छन् । बेदकोट नगरपालिका १० का वडाध्यक्ष केशव रावलले दृष्ट्रिबन्धक राखेको जमिन झुक्याएर पाण्डेयले आफ्नो नाममा हालेर गरिब परिवारको विचल्ली बनाएको बताए । 
‘कसैले कसैलाई ऋण दिए बाफत उसको ज्याय जेथा नै लग्ने हडप्ने काम गैर कानुनी मात्र नभई असामाजिक हो, ‘उनले भने, ‘ऋण दिए बाफत धनीले ब्याज सहित सावा पाउनुपर्छ, तर मानिसको उठिबासी हुने हिसाबले जमिन हडप्नु होईन् ।’ रावल परिवार अन्यायमा परेको भन्दै दुवैपक्षसंग संयुक्त छलफल गरेर अघि बढ्ने उनले बताए ।
 रावल परिवारलाई  विपिन प्रकास पाण्डेयले भने दृष्ट्रिबन्धकीमा नभई रावल र आफुविच जमिन खरिद बिक्रि गर्ने सहमती भएको बताएका छ्न । दृष्ट्रिबन्धकी नभई हामीविच जमिन खरिदबिक्रि गर्ने सहमति अनुरुप आफुले  जमिन पास गराएको पाण्डेयले बताए। रावल परिवारले नै आफुलाइ  झुक्याएर नक्कली मान्छे लिएर पास गराएको उनी बताउछ्न ।


दृष्ट्रिबन्धकमा राखेको जमिन अंसियारको मञ्जुरी उपस्थिति बिनै नक्कली अंसियार खडा गरेर पास गर्नु गैर कानुनी मात्र नभई अपराध भएको मालपोत कार्यालय कञ्चनपुरले जनाएको छ । 
मालपोत कार्यालय कञ्चनपुरका प्रमुख खेमराज खत्रीले रावल परिवारका तीन जना मध्ये दुई जना मात्रै उपस्थिति गराएर जमिन पास गराउने काम गैर कानुनी भएकाले संलग्न लेखापढी व्यवसायी, व्यक्ति र स्वयम कर्मचारीले गैर कानुनी काम गरेको बताए । ‘अंसियार विदेशमा भएको मौकामा नक्कली अंसियार खडा गरेर जमिन नामसारी गर्न मिल्दैन, उपस्थिति भएपनि मञ्जुरी चाहिन्छ, ‘उनले भने, ‘यो सरासर गलत भएको छ, सम्बन्धीत निकायमा उजुरी परे छानबिन गरे गल्ती गर्नेले सजाय भोग्नुपर्छ ।’ उतिबेला लेखनदास जनकराज जोशी, कार्यालय प्रमुख दलजित भट्ट, नासु तारादत्त भट्ट र खरिदार तिलक ऐर थिए ।