खाती दम्पती हत्याप्रकरण : हत्या गर्न चार लाखको सम्झौता

खाती दम्पती हत्याप्रकरण : हत्या गर्न चार लाखको सम्झौता

महेन्द्रनगर, २६ साउन
साउन १६ गते राती एक बजेको समयमा खाती दम्पतीको छिमेकीले चारलाख रुपैया दिई हत्या गर्ने सम्झौता भएको पाइएको छ । 
बेलौरी नगरपालिका वडा नं. ७ भगतपुर बस्ने खातीका छिमेकी अन्दाजी वर्ष ५३ का प्रकाश ऐरले बोक्सीको आरोप लगाएको विषयमा विगत लामो समयदेखि रिसीबी रहेकाले कृष्णपुर नगरपालिका २ बाणी बस्ने वर्ष ४५ का रवि रानालाई मार्ने नियतले चार लाख नगद दिएको खुलेको हो । 
घटनाको अनुसन्धान गर्न तत्काल ईलाका प्रहरी कार्यालय बेलौरी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले केनाईन शाखा धनगढीबाट तालीम प्राप्त कुकुरको परिचालन गरी दोषी पत्ता लगाएको छ । 
अनुसन्धान टोलीले तत्काल मृतकका छोरा राजेश खाती र गणेशपुरका दिनेश रानालाई पक्राउ गरी अनुसन्धान थालिएको तर छोराको संलग्नता नपाइए पछि छोडिएको कञ्चनपुर प्रहरी नायव उपरीक्षक थापाले बताए ।
घटनापूर्व आफुलाई दिनेश राना र होरी रानाले संगै लगी रक्सी सेवन गराई घरमा जान नदिएको घटना घटाईसकेपछि मात्र मोटरसाईकलमा घर पुगाईदिएको मृतकका छोरा राजेश खातीले खुलाएका छन् । 
घटनाको प्रारम्भिक अनुसन्धान पश्चात मृतकका छोरा राजेश खातीले दिएको किटानी जाहेरीको आधारमा संलग्न ब्यक्तिहरु प्रकाश ऐर र होरी रानासमेतलाई तत्कालै पक्राउ गरी रबि रानाको घरबाट नगद रकम एक लाख पचास हजार लुकाई छिपाई राखेको अवस्थामा बरामद गरीएको थियो । 
कञ्चनपुर जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई पक्राउ अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्यलाई निरन्तरता दिई घटना पश्चात फरार रहेका भर्रा भन्ने रबि रानालाई भाग्दै गरेको अवस्थामा आईतबार जिल्ला कञ्चनपुर कृष्णपुर गुलरिया क्षेत्रबाट पक्राउ गरी पक्राउ परेका चारै जनामाथी कानून बमोजिम थप अनुसन्धान कार्य भै रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । 
खाती दम्पतीको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँ बस्ने छिमेकी ५३ वर्षीय प्रकाश ऐर, बेलौरी ७ गणेशपुर बस्ने ३५ वर्षीय दिनेश राना, बेलौरी ६ हात्तिबोझा बस्ने ३६ वर्षीय होरी राना र कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी बस्ने ४५ वर्षीय रबि रानालाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
घरमा एक्लै भएको मौका छोपी भर्रा भन्ने रबि रानाले धारिलो हतियार प्रहार गर्दा श्रीमती बेली देवि खातीको घटनास्थलमा नै मृत्यु भएको थियो भने निजका श्रीमान घनश्याम खातीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।