भारतमा २०२० मै कोरानाविरुद्धको भ्याक्सिन प्रयोग भइसक्ने, नेपालमा कहिले होला ?

भारतमा २०२० मै कोरानाविरुद्धको भ्याक्सिन प्रयोग भइसक्ने, नेपालमा कहिले होला ?

भारतमा सन् २०२० को अन्तसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन भई प्रयोग हुने भएको छ । यसै वर्षको डिसेम्बरभित्र भारतीय जनताले भ्याक्सिन लगाउन पाउने भएका छन् ।

आज टाइम्स अफ इन्डियाले भारतको बजारमा सन् २०२० भित्र नै भ्याक्सिन प्रयोगमा आइसक्ने खबर छापेको छ । भारतभित्र नै उत्पादित र बाह्य मुलुकमा पत्ता लागेका भ्याक्सिनहरु पनि प्रयोगमा आउनसक्ने उल्लेख छ ।

पुणेस्थित सेरम इन्स्टिच्युट भारतभित्र भ्याक्सिन विकास गर्ने पहिलो कम्पनि हुने जनाइएको छ । सेरमले बेलायतको एस्ट्राजेनेकासँग मिलेर अक्सफोर्ड भ्याक्सिन विकास गरिरहेको छ ।

सेरमले दोस्रो र तेस्रो चरणको भ्याक्सिनको मानव परीक्षण शुरु गरिरहेको छ । १८ वर्ष माथिका १६ सय मानिसहरुमा भ्याक्सिनको परीक्षण शुरु गरिएको छ ।

भारतमा अन्य भ्याक्सिनको पनि विकास भइरहेको छ । भारत बायोटेक कोभ्याक्सिन र जिडस क्याडिलाजको जिकोभ डिको पहिलो र दोस्रो चरणको परीक्षण चलिरहेको छ । ती कम्पनिहरुले एक हजार देखि ११ सय मानिसमाथि परीक्षण गरिरहेका छन् ।

अक्सफोर्ड भ्याक्सिनको दोस्रो चरणको परीक्षण बेलायतमा सकिएको छ । यसले सकारात्मक नतिजा दिएको बुझिएको छ ।

सेरम कम्पनिले विभिन्न संस्थाहरुसँग मिलेर भ्याक्सिन विकास गर्ने र उत्पादनको तयारीमा लागेको छ । सेरम विश्वमा सबैभन्दा ठुलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने कम्पनि हो ।

भारतीय जनताले सन् २०२० भित्र भ्याक्सिन लगाउन पाउने भएपछि तीनतर्फ सीमा जोडिएको नेपालले पनि चाँडै पाउनेसक्ने सम्भावना रहेको छ । खुल्ला सीमाका कारण सहज आवतजावत भएकाले भारत कोरोनामुक्त हुन नेपाल पनि कोरोनामुक्त हुनु अनिवार्य हुन्छ ।

त्यसकारण पनि भारतमा कोरोना भ्याक्सिनको प्रयोग भएसँगै नेपालमा पनि हुनसक्ने सम्भावना छ । यसका लागि सरकारी तहबाट हुने पहल र तदारुकता पनि महत्वपूर्ण हुन्छ ।