‘तोकिएको काम गर्नुस्, पछि बाहना बनाएर उम्कन पाईदैन’

‘तोकिएको काम गर्नुस्, पछि बाहना बनाएर उम्कन पाईदैन’

धनगढी : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयले तोकेका काम चालू आर्थिक बर्षमा कुनै पनि हालतमा पुरा गर्न सुदूरपश्चिम प्रदेशका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय मातहतका कार्यालयहरुको दुई दिने प्रदेश स्तरीय प्रगति समिक्षा गोष्ठीलाई आज धनगढीमा सम्बोधन गर्दै मन्त्री अर्यालले भोली बहाना बनाएर र अर्को पक्षलाई दोष दिएर उम्कन नपाइने भन्दै तोकिएका काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

कैलाली, कञ्चनपुरमा मुक्त कमैया र पहाडी जिल्लामा रहेको हलिया समस्यालाई चालू आर्थिक बर्षमै सक्ने गरी काम थाल्न सम्बन्धित कार्यालयका प्रमुखहरुले जिम्मेवारी लिएर काम गर्नुपर्ने भन्दै उहाँले माओवादी आक्रमणमा ध्वस्त भएर कागजपत्र हराएको अछाम जिल्लामा बिशेष नापीको काम लामो समयदेखि चलिरहेकोले यो काम चालू आर्थिक बर्षमै पुरा गर्न पनि निर्देशन दिनुभयो ।

केही समस्या भए बिभाग र मन्त्रालयसित समन्वय गरेर भएपनि यो आर्थिक बर्षमा राम्रोसित काम गरेर सम्पन्न गर्नुपर्ने मन्त्री अर्यालको निर्देशन छ । यहाँले तोकिएका काम समयमा पुरा नगर्ने र बहानाबाजी कर्मचारीहरु कार्वाहीको दायरामा आउने उहाँले चेतावनी समेत दिनुभयो । 

मन्त्री अर्यालले आफ्नो मन्त्रालयले चालू आर्थिक बर्षमा मुलुक भरीका १सय ३१ मध्ये १ सय ५ मालपोत कार्यालयमा अनलाइन मार्फत काम गर्ने प्रणाली जडान गर्ने जानकारी दिनुभयो ।

उहाँले हालसम्म ४४ वटा कार्यालयमा अनलाइन सेवा शुरु गरिसकिएको बताउनुभयो । कार्यक्रममा संघीय सांसद नारदमुनी रानाले नेपालको भूभाग समेत नभएको नक्सा प्रयोग भइरहेकोले आधिकारिक नक्सा मात्रै प्रयोग हुने ब्यवस्था मिलाउन मन्त्री अर्यालसित माग गर्नुभएकोमा मन्त्री अर्यालले  नेपालको सम्पूर्ण भू–भाग समेटिएको नापी बिधागबाट प्रमाणित नक्सा सबैतिर प्रयोग हुने गरी छाप्ने ब्यवस्था गरिन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद राना संगै प्रदेश सभाका सांसद नेपालु चौधरीले पनि कैलाली र कञ्चनपुरमा सीमामा भइरहेको विवाद समाधान गर्ने तर्फ चासो दिन माग गर्नुभयो ।

यस्तै प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले संघ र प्रदेशको समन्वयमा कमी रहेको गुनासो गर्दै समन्वय गर्दा काममा सहजता आउने बताउनुभयो ।