आज हरितालिका तीज, "सुनसान धनगढीका मन्दीरहरू"

आज हरितालिका तीज, "सुनसान धनगढीका मन्दीरहरू"

धनगढी । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । धनगढीका सधै भिडभाड देखिने शिवालयहरू याे बर्ष भने सुनसान रहेका छन्।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष देशरभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीडभाड हुने तीज यो वर्ष भने सुनसान देखिएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले महामारी फैलन नदिन कैलालीको धनगढी लगायत विभिन्न जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरेसँगै चहलपहल कम हुँदा तीज पनि सुनसान जस्तै भएको छ ।


 धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । 
 

यस्तो छ सामाजिक महत्व

हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाडको रुपमा हरितालिका तीजलाई लिइन्छ । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने यो चाडमा भगवान शिवको आराधना गर्नुका साथै नाचगान र मनोरञ्जन समेत गर्ने प्रचलन छ ।

यो चाडमा बिहे गरेर पराइ घर गएकी छोरीलाई माइती (बाबु, आमा र दाजुभाइ) ले घरमा बोलाएर विभिन्न परिकार खुवाउने गरिन्छ । त्यस्तै वर्षौदेखि टाढा भएका साथीसंगीसँग भेट्ने, दुःख सुखका कुराहरु साट्ने र एकआपसमा गीत गाउँदै रमाउने गरिन्छ ।

त्यस्तै कतिपय महिलाहरु नजिकैको शिवालयमा गई शिवको आराधना गर्ने गर्छन् । तीजका दिन देशभरका शिवालयहरुमा पनि निकै भीड हुने गर्छ ।