लिपुलेकमा क्षेप्यास्त्र तैनाथीका लागि चीनले निर्माण शुरू गरेको दाबी

लिपुलेकमा क्षेप्यास्त्र तैनाथीका लागि चीनले निर्माण शुरू गरेको दाबी

चीनले नेपाल भारत र चीनको त्रिदेशीय विन्दुमा रहेको लिपुलेकमा क्षेप्यास्त्र तैनाथ गर्न लागेको बताइएको छ । यी क्षेप्यास्त्रहरू जमीनबाट आकाशमा मार हान्न सक्छन् । 

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले ट्विटरमा भूउपग्रहीय तस्वीर अप्लोड गरेको छ । त्यसमा चीनले त्रिदेशीय विन्दुमा क्षेप्यास्त्र तैनाथीका लागि संरचना निर्माण गरिरहेको भनी लेखिएको छ । 

त्यहाँ सैनिक तैनाथी पनि गरिएको डेट्रेस्फाको भनाइ छ । त्यस क्षेत्रको १०० किलोमिटर क्षेत्रफलमा चिनियाँ जनमुक्ति सेनाको सक्रियता पनि बढेको छ । भारतीय सीमा नजिक क्षेप्यास्त्र तैनाथ गरिन लागेकाले भारत निकै चिन्तित बनेको छ । 

चीनले लिपुलेक नजिक एक हजारभन्दा बढी जवान तैनाथ गरेको छ । यसरी चीनले आफू नेपालसँग रहेको भनी देखाउन चाहेको भारतको बुझाइ छ ।

लिपुलेक नजिकैबाट भारतले मानसरोवर यात्राका लागि नयाँ रूट बनाएको छ । नेपाली भूमिलाई अतिक्रमण गर्दै बनाइएको सडकमा नेपालले कडा आपत्ति जनाएको छ ।