श्रेद्धय व्यक्तित्व जयपृथ्वीप्रति श्रद्धाञ्जली

श्रेद्धय व्यक्तित्व जयपृथ्वीप्रति श्रद्धाञ्जली

जसले कर्म ग¥यो कर्तव्य पथमा त्यही ठूलो सार छ ।
उसले जन्म लिनु यही धरणीमा जीवनको पार छ ।।
त्यस्ता मानव प्रेमी जयपृथ्वीमा श्रद्धाञ्जली अर्पण ।
तिनकै जन्मथलो यो मातृभूमिमा यो जीवन समर्पण ।।

स्व. मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४४ औं जन्मजयन्तिको पुनित अवसरमा श्रद्धाञ्जली स्वरुप उनको शुभकृतिको चर्चामा दुई शब्द अर्पण गर्न चाहन्छु । नेपाल अधिराज्य अन्तर्गतको तत्कालिन बझाङ्ग राज्यमा वि.सं. १९३४ साल भाद्र ७ गतेमा जन्मिएका जयपृथ्वीको १९९७ साल आश्वीनमा भारतको बंगलोर निर्वासनमा-६३ वर्षको उमेरमा) परलोक भयो ।

जीवनका ती ५ दशक उनले पूर्ण रुपले मानव सेवामा समर्पित गरेर सार्थक तुल्याए । बझाङ्गी राजा विक्रम बहादुर सिंहको जेठो छोराको रुपमा जन्म लिएका उनले १२ वर्षकै उमेरमा राजा बन्ने अवसर पाए । अनि आफ्नो जीवनको अन्तिम क्षणसम्म निर्वासित अवस्थामा समेत बझाङ्गी जनताको सेवा गरिरहे ।

शिक्षा, स्वास्थ्य, सरसफाई, भूमि व्यवस्थापन, यातायात, उद्योग व्यवसाय आदि जीवनमा प्रत्येक क्षेत्रमा बझाङ्गवासीको भलो गरेर कहिल्यै नविर्सिनु गुन लगाएर गए । त्यही बेला उनले बझाङ्गमा विद्यालय स्थापना गरे र मृत्यु पर्यन्त त्यसको व्ययभार व्यहोर्दै पत्राचारको माध्यमबाट व्यवस्थापकीय निर्देशन पनि दिइरहे । अस्पताल र औषधालय स्थापना गरे ।

सरसफाई सम्बन्धी चेतना जगाउन निर्देशिका सहित गाउँगाउँमा विद्यार्थीको टोली खटाए । केही व्यक्तिलाई काठमाण्डौँ झिकाएर उद्योग व्यवसाय सम्बन्धी प्रशिक्षण दिलाए । सेती नदीको किनारमा अवस्थित डाँसे फणिल्लेको चट्टानी भीरमा गोरेटो बाटो निर्माण गराए ।

अनि सर्वाधिक महत्वपूर्ण कुरा मोहियानीमा जग्गा खनजोत गर्दै गरेका भूमिहीन किसानहरुको नाममा काठमाण्डौँबाट नापी टोली लगेर राजाका नाउँमा रहेको कुते जग्गा कमाउने मोहीहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाए, जुन कुरो मुखले भन्दै गरे पनि अहिलेसम्मका सरकारहरुले गर्न सकेका छैनन् ।

काठमाण्डौँमा रहँदा उनले आफ्नै ससुरा चन्द्र शमशेरको सहयोगीका रुपमा विद्यालय स्थापना गर्ने अभियान चलाए । नेपाली भाषालाई सरकारी विद्यालयहरु पठनपाठनको माध्यमबनाउने व्यवस्था मिलाए । १५ वर्षसम्म नेपालको प्रथम सरकारी समाचार–पत्र गोरखापत्रको सफल र प्रभावकारी सम्पादन गरे ।

भारदारी अड्डाको प्रमुख न्यायाधीसको रुपमा निष्पक्ष न्याय सम्पादन गर्ने प्रयत्न गरे ।ससुरा श्री ३ चन्द्र शमशेरलाई अभिप्रेरित गरेर दासप्रथा उन्मूलन गराए र त्रिचन्द्र कलेज स्थापना गर्न लगाए । विद्यालयहरुका लागि आफैले पाठ्यपुस्तक लेखेर प्रकाशनमा ल्याई जापानको इतिहास समेत नेपाली भाषामा लेखे ।

नेपालमाबेलायतको जस्तो प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न उक्साइरहे । यी सबै कुरा अधिनायकवादी प्रधानमन्त्री चन्द्रशमसेरका जुवाइ भएका कारण कार्वाहीगर्न हिच्किचाइ रहे । तर जयपृथ्वीको क्रियाकलाप उनका ससुरा चन्द्रशमसेरलाई  असैह्य बन्दै गयो ।

यो कुरो चाल पाएर बन्धनमुक्त जयपृथ्वी नेपाल छोडेर स्वनिर्वासनमा भारततिर लागे । केही वर्ष उत्तराखण्डको नैनितालमा बसेर त्यहाँबाट बंगलोरमा सरी त्यही स्थायी बसोबास गरेर बाँकी जीवन मानवतावादी दर्शनको प्रतिपादन र प्रचार प्रसारमा विताए ।

विश्व शान्ति र विश्व बन्धुत्व अभियानमा लागेका उनले मानवतावाद सम्बन्धी पुस्तक लेखे । पत्रिका प्रकाशन गराए । गैरसरकारी मानवतावादी संस्था स्थापना गरे । यही मानवतावादी संस्थाका शाखाहरु खोल्न र आफ्नो मानवतावादी दर्शनको प्रचार प्रसार गर्न सन् १९२९ देखि १९३६ सम्म उनले एसिया, यूरोप र उत्तर अमेरिकाका विभिन्न शहरको भ्रमण गरेर प्रभावकारी र सारगर्भित प्रवचनहरु दिए ।

विश्वधर्म सम्मेलनको दोस्रो संसदमा सहभागी हुन उनी उत्तर अमेरिकाको शिकागो शहरमा गए जसमा विश्वमा प्रचलित ११ धर्मका प्रतिनिधिहरु सहभागी थिए । उनको प्रवचनबाट सम्मेलनका सहभागीहरु अति प्रभावित भए र उनकै सक्रिय पहलमा विश्व धर्म संघ (World Fellowship of Faiths) नामक स्थायी संस्था गठन भयो, जसका उनी पनि सदस्य भए र एसिया प्रतिनिधिको रुपमा मनोनयन भए ।

अनि उद्देश्यको समानताका कारण आफ्नो मानवतावादी क्लवलाई पनि त्यसैमा गाभी दिए । उनमा मानवतावादी विश्व बन्धुत्वको भाव यति सघन र बलियो थियो कि सन् १९३५ मा इटालीले उत्तर अफ्रिकाको निकै विपन्न मुलुक अविसिनिया (हाल इथियोपिया) माथि आक्रमण गरेका कारण युद्ध पीडितहरुको सेवागर्न त्यहाँ जान खोज्दा तत्कालिन भारतको शासक बेलायत सरकारले अनुमति नदिँएकोले एउटा जापानीको भेषमा नक्कली भिसा लिएर चिकित्सक, परिचारिका, औषधि र मास्क आफ्नै खर्चबाट त्यहाँ पुगे ।

सेवारत रहेकै बेला अविसिनियाले आत्मसमर्पण गरेपछि उनी युद्धबन्दी बनाइए । कारागार मै विरामी परे । छुटेपछि भारत फर्के । तर रोग निको भएन,त्यही रोगले ग्रस्त भएर ६३ वर्षको अल्पायुमै सन् १९४० मा भारतको बंगलोर निवास मै उनको देहावसान भयो । त्यहाँका राष्ट्रिय पत्रिकाहरुले दोस्रो गौतमबुद्धको निधन भनेरसमाचारको मुखपृष्ठमा छापे ।

उनको मानवतावादी धारणा अति गहन, व्यापक र उदार थियो । मानिस अनेक थरीका सामाजिक संजाल र जंजालमा विभक्त छ । आमा–बाबु, छोराछोरी, भाईबहिनी, पत्नी आदि परिवारजनको बन्धन, छिमेकी, नातेदार, बन्धुबान्धव र समाजको बन्धन, राष्ट्रियता, धर्म, संस्कृति, जात, वर्ण र वर्गको बन्धन, काम, क्रोध, लोभ मोह र अहंकारको बन्धन ।

यी सबै बन्धनबाट मुक्त भएर निक्खर, निस्वार्थ र निष्पक्ष मानिस भै मानव सेवामा समर्पित हुनु जयपृथ्वीको अनुपम र अद्वितीय त्यागमय व्यक्तित्व थियो । यस तथ्यलाई धेरैले व्यक्तिगत रुपमा त अनुभूत गरेका पनि छन् । तर उनको त्यो महान राष्ट्रिय गौरवशाली व्यक्तित्व र योगदानलाई हाम्रो मुलुकले बेवास्ता गर्दै र पन्छ्याउँदै गरेको छ ।

न उनको राष्ट्रिय रुपमा आधिकारिक पहिचान बन्न सक्यो न त उनका आजको जल्दोबल्दोहिंसामय विश्वबाट मानव जातिलाई त्राण दिने दर्शन र सिद्धान्तको प्रचार प्रसारमा सरकारी वा गैरसरकारी निकायबाट आजसम्म कुनै प्रयत्न हुन सक्यो ।

तर उनकासिद्धान्तको औचित्य आजको विश्वमा घटेको छैन, बरु बढ्दो छ ।यसैले मेरो शुभकामना छ आगामी दिनहरुमा केही ठोस कदमहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चालियुन् ।

उत्तम बहादुर सिंह
पुस्तक लेखक
(२०३५, २०५५, २७३ तथा जयपृथ्वी मानवतावाद दर्शन)