किम जोङ उन कोमामा रहेको दाबी, बहिनीले कार्यभार लिने

किम जोङ उन कोमामा रहेको दाबी, बहिनीले कार्यभार लिने

दक्षिण कोरियाका एक कूटनीतिकर्मीले उत्तर कोरियाका नेता किम जोङ उन कोमामा गएको र उनकी बहिनी किम यो जोङ देशको शासन चलाउन तयार भएको दाबी गरेका छन् । 

दक्षिणका पूर्व राष्ट्रपति किम दाए–जुङका पूर्व सल्लाहकार चाङ सोङ–मिनले दक्षिण कोरियाली मिडियामा यो सनसनीपूर्ण दाबी गरेका हुन् । चाङले किम जीवितै तर कोमामा रहेको बताए । 

‘उत्तराधिकारका लागि संरचना बनिसकेको छैन त्यसैले किम यो–जोङलाई अघि सारिएको छ किनकि लामो समयसम्म शून्यताको स्थिति रहन दिन मिल्दैन,’ उनले भने । 

किमले आफ्नो कार्यभार सहयोगीहरूलाई बाँडेको भनी दक्षिण कोरियाको गुप्तचर संस्थाले दाबी गरेको केही दिनपछि चाङको यो दाबी आएको हो । 

चाङको दाबीमाथि विभिन्न शंका गरिएको छ । किम सार्वजनिक स्थानमा बाक्लो गरी नदेखिँदा यसअघि पनि उनको मृत्युको अफवाह उड्ने गरेको थियो । 

गत अप्रिल महिनामा किम तीन हप्तासम्म नदेखिएपछि उनको मुटुको शल्यक्रिया बिग्रिएको बताइएको थियो । तर पछि उनी सार्वजनिक स्थानमा देखिएका थिए ।