बाँकेमा राप्ती नदीको कटान बढ्दै, २५ बिघा धान खेत बगरमा परिणत

बाँकेमा राप्ती नदीको कटान बढ्दै, २५ बिघा धान खेत बगरमा परिणत

नेपालगन्ज । 
बाँकेमा राप्ती नदीले कटान तीव्र पारेपछि जिल्लाको राप्ती सोनारी गाउपालिका वडा नम्बर २ कचनापुरका बासिन्दाहरु समस्यामा परेका छन। राप्ती नदीमा आएको बाढीले कचनापुर गाउँका बासिन्दाहरूको करिब २५ बिघा धान खेत कटान गरेको छ। 
नदीको कटान बढ्दै गए पछि धान खेत बगरमा परिणत हुँदै गएको छ।  राप्ती नदीले धान खेत भएको करिब डेढ किलोमिटर क्षेत्रमा कटान तिब्र पारे पछि नदी  किनारामा रहेको बस्ती नै जोखिममा परेको छ। जोखिममा परेका करिब २५ घर परिवारले गाँउ नजिकैको जंगलमा झुपडी बनाएर बस्न बाध्य छन्।
 नदीमा बाढी भएका कारण तत्काल नियन्त्रण गर्न सक्ने अवस्था नभएका कारण स्थानिय बासिन्दाहरु नदीले काट्दै गरेको खेतबारी टुलुटुल हेरेर बस्न बिवश भएको स्थानिय बासिन्दा राम बिहारी थारुले बताए।  खेतीपाती बाहेक आम्दानीको अन्य स्रोत नभएका किसानहरू वर्षभरिको खर्च धान्ने खेतबारी नै बगरमा परिणत भए पछि के कसरी खानेकुरा जुटाउने र परिवार पाल्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन्।   
विगत ३ वर्षदेखि राप्ती नदीले कचनापुर क्षेत्रमा कटान गर्दै आएको छ। गत वर्ष जनताको तटबन्ध कार्यालयले निर्माण गरेको करिब ४ सय मिटर तटबन्ध भत्काएर नदीले कटान  तिब्र पारेको हो। नदीको धार परिवर्तन हुदै गएका कारण पछिल्ला वर्षहरुमा नदी कटान बढ्दै गएको हो। नदीले कटान गरेको बेला हरेक वर्ष जसो राजनीतिक दल नेता, जनप्रतिनिधि र कर्मचारीहरु आउने गरे पनि  नदी नियन्त्रणको लागि दीर्घकालिन योजना निर्माण गर्ने तर्फ खासै पहल हुन सकेको छैन्।  नदी नियन्त्रणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिका र वडा कार्यालयले नदी नियन्त्रणको  काम गर्न नसकेको वडा नं २ का वडा अध्यक्ष मदन वलीले बताए।  
राप्ती नदीले कचनापुर लगायत नदी किनाराका धेरै बस्तीहरुमा कटान गर्दै आएकाले संघीय सरकारले नदी नियन्त्रणका विशेष कार्यक्रम संचालन गर्नु पर्ने  राप्ती सोनारी  गाउपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन्। यसैबीच जनताको तटबन्ध कार्यालयका प्राविधिकहरुको टोलीले नदी कटान भएको क्षेत्रको स्थलगत भ्रमण गरेर तत्कालका लागि बोरामा माटो भरेर र जालीमा ढुंगा भरेर कटान भएको क्षेत्रमा अस्थायी तटबन्ध निर्माणको पहल गर्ने आश्वासन दिएको वडा अध्यक्ष वलीले बताए।