संस्कृत भाषालाई एसियाली–लिपी अपनाउन मानवतावादी जयपृथ्वीको बैचारिक दृष्टिकोण

संस्कृत भाषालाई एसियाली–लिपी अपनाउन मानवतावादी जयपृथ्वीको बैचारिक दृष्टिकोण

म न त कवि हुँ, न त लेखक–साहित्यकार, न त म विद्वान हुँ, न त कुनै बुद्धिजिवी हुँ, न त म कुनै राजनीतिज्ञ हुँ, न त म मा सेवाको भावना भएर पनि समाजका लागि कुनै सेवाको अधिकार लिन सकेको छु । तापनि, मानवतावादी जयपृथ्वीबहादुर सिंहबाट आम–जनताका लागि स्थापित पहिलो “श्रीसत्यवादी” (प्रा. पाठशाला) मा.वि. बझाङ्गमा अध्ययन गर्दा “नैतिक शिक्षाका रुपमा संस्कृत भाषाको महत्व” बारे तत्कालिन गुरुहरुबाट शिक्षाप्रद– मार्गको अनुभव गर्ने शुभ–अवसर पाएको थिएँ ।

भगवान शिवजीका डमरुबादनबाट प्रस्फुटित संस्कृत–व्याकरणको उद्भव र परिस्कृत भाषादिको विकास बारे प्राप्त अल्पज्ञानबाटमेरो मानस–पटलद्वारा मानवतावादी जयपृथ्वीले गरेका राष्ट्रभाषाका साथै प्रजातन्त्रको प्रारुप र “मानवतावाद संघ” को स्थापना एवं विश्व–भ्रातृत्व, विश्व–शान्तिको सद्प्रयास र संस्कृत भाषालाई एसियाली लिपी अप्नाउन सारगर्भित बैचारिक दृष्टिकोण बारे (सार–संक्षेप) यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । 

जनचेतनाको मूल आधार–स्तम्भ हो– “नैतिक–आदर्श” । नैतिक आदर्शको प्रेरणा नैतिक शिक्षाले प्रदान गर्दछ । नैतिक शिक्षाको महत्व सदाचारमा हुन्छ । सदाचार नै “मानवता”को अमरत्व प्रदान गर्ने अमूल्य गुण हो । मानवीय धर्मको मूल उद्देश्य नै “आचारः परमो धर्म” हो । नैतिक शिक्षाको मूल–स्रोत मानव जीवनको प्रारमिभक शिक्षाका वर्णाक्षरहरु हुन् ।

प्रत्येक वर्णाक्षरबाट भावोद्व्यक्त शब्दहरु नै नैतिक शिक्षाका मूलभूत सार हुन् । मानवीय नैतिक आदर्शलाई एउटै व्यक्ति, गाउँ, जिल्ला वा राष्ट्रियस्तरमा मात्र सीमित नराखी विश्वव्यापी रुपमा व्यापकता प्रदान गर्ने मानवतावादी जयपृथ्वीबहादुर सिंह यही नेपाल भूमिका विशिष्ट प्रतिभा हुन् । मानवीय नैतिक आदर्श व्यक्तित्व जयपृथ्वीले आम–जनताको प्रयोजनका लागि नैतिक शब्दभाव “सत्यवादी” नामाकरण गरी (वि.सं. १९६३) नक्साल काठमाडौँमा प्राथमिक पाठशाला खोले ।

उनले सामाजिक सभ्यता एवं साहित्य, विज्ञान, कला र संस्कृतिको पुनरुत्थान गर्न तथा राष्ट्र या विश्वका मानव जातिलाई एकत्वमा परिणत गरी मानवताका उदात्त गुणहरुको विस्तार गर्न श्री ३ चन्द्रशमशेरका ज्वाईं र बझाङ्ग राज्यको राजा पदवी जस्तो मान–प्रतिष्ठा एवं अधिकारको परित्याग गरी गौतम बुद्ध झै मानवतावादी दर्शन र धर्मको गहन–अध्ययनका साथै अनेकौं ऐश–आराम, सुख–सुविधाको तिलाञ्जली दिई शान्त एवं सरल जीवन–यापन गर्न जात, जाति धर्म संकीर्णताको परित्याग गरे । 

उपर्युक्त दृष्टिकोणबाट जयपृथ्वी भारत निर्वासित भएपछि उनले संस्थापन गरेको श्री सत्यवादी प्राईमरी पाठशाला (बझाङ्ग भोपुर) का प्र.अ. रामदत्त अवस्थीलाई भारत, बंगलोरबाट उक्त पाठशाला संचालनका लागि बजेट व्यवस्थापन आदि बारे विभिन्न चिठ्ठठी–पत्रहरु (Monogram) “मनो जयति यो जयति ब्रह्माण्ड” भन्ने आदर्श महावाक्यद्वारा मार्ग–दर्शन गरिएको छ ।

जयपृथ्वीको मानवतावादी मूल–सन्देश र व्यक्तित्व बारे उल्लेख गर्दै मदनमणि दीक्षितको वि.सं. २०५७ जेठ ६ गतेको महाकाली साप्ताहिक पत्रिकामा यस्तो वर्णन गरिएको छ– “जयपृथ्वीबहादुर सिंहले लेखेका दुईवटा संस्कृतका महावाणी श्लोकले मलाई बारम्बार व्यूँझाई रहेका हुन्छन्, जसमा पहिलो श्लोक हो–

“अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानाम तु वसुधैव कुटुम्बकम् ।।”

दोस्रो संस्कृत महावाणी गोरखापत्रको स्थापना गर्दा लेख्नु भएको श्लोक–

“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्जनः” ।।

यो श्लोक गोरखापत्रको स्थापनादेखि आजसम्म Mascots मा अभिलिखित भएर आएको छ । यी दुईटा श्लोकलाई जति लामो व्याख्या गरेपनि अपर्याप्त नै हुन्छ । बदलिँदो समयानुसार यी व्याख्यामा थपिदै जानेछन्, घट्ने छैनन् ।”

जयपृथ्वीले सन् १९३३ अगस्त २९ मा अमेरिका, शिकागोमा आयोजित “विश्व–धर्म सम्मेलन” को प्रवचनमा विश्व–बन्धुत्वको महत्ता र यथार्थता बारे उद्घोष गर्दै भनेका छन्– “मेरो धर्मको आधार वेद हो, अझवेदान्त हो । वेदान्तको अर्थ हो वेदको आखिरी, तर म त भन्दछु कि वेदान्तको माने हो वेदको सार । “तत् त्वम असि” (त्यो तँ होस्) भन्ने महावाक्य नै उपरोक्त सार हो ।

‘तत्’ को मतलव सारा जगत हो, ‘त्वम’ कर्ता हो, यी दुईटाको एकता ‘असि’ पदले प्रकट गरेको छ । मेरो धर्मले सारा जगत ‘मै’ हो भन्ने सिकाउँछ । यसकारण त्यही जगतको एक अङ्ग भएको हुनाले सारा मनुष्य जाति पनि ‘मैं’ हो ।

जुन मानिसले सब वसुधाको एकतामा “वसुधैव कुटुम्बकम्” प्रति पूरा विश्वास गर्दछ, उसले हरेकलाई आपैm जस्तो सम्झनु पर्दछ । जहाँसुकैका मानिसले उपर्युक्त महावाक्यको तात्पर्य सम्झेर त्यही बमोजिम काम र विचार गरे भने परस्परको स्वार्थ–संघर्ष हुने सम्भावना छैन ।”

जयपृथ्वीले यूरोपेली देशहरुमा रोमन–लिपिको अनुशरण भैंm विश्वको सर्वाधिक प्राचीन संस्कृत भाषालाई एसिया महाद्वीपको साझा–लिपि अप्नाएर पारस्परिक समझदारी र सम्बन्ध बढाउन एउटा ‘एसियन संघ’ स्थापना आदिको आवश्यकता बारे यसप्रकार (सारांश) सुझाव दिएका छन्–

“यो भन्नुमा कुनै अत्युक्ति हुने छैन कि ४८ वटा अक्षरहरुद्वारा मानव भाषामा प्रत्येक बोल्न सकिने (सवाक) स्वर लेख्न सकिने छ । संस्कृत सम्भवतः विश्वको सर्वाधिक प्राचीन भाषा महान संस्कृतिकी आमा हो । हालसम्म विकास भएका ध्वनी ग्रामीण लेखन पद्धतिहरुमा संस्कृत निसन्देह सबैभन्दा बढी वैज्ञानिक तरिका हो ।

संस्कृत शब्दको अर्थ नै ‘राम्ररी बनाएको’ भन्ने हुन्छ । सबै महान बुद्ध धर्म ग्रन्थहरु मूल रुपमा पाली भाषामा छन्, जुन संस्कृत कै एउटा भाषिका हो र त्यही लिपिमा लेखिएको छ । भारतमा बोलिने आधा दर्जनभन्दा बढी भाषाहरु संस्कृत–लिपि मै लेखिएका छन् ।”

जयपृथ्वीको यस गहन विचारधारा बारे सन् १९३३ नोवेम्बर ५ को Japan Times, Kumin (Tokyo) पत्रिकामा प्रकाशित छ । उल्लेखित पत्रिकाको सारांश, जयपृथ्वीकै शब्दमा– "It is no exaggeration to say within these 48 letters may be written every articulate sound of the human tongue. Sanskrit, perhaps the oldest language of the world, is the mother of a great culture,Sanskrit writing is undoubtedly the most scientific method of phometic writing ever evolved. The very word 'Sanskrit' means 'well made'. All the Great Buddhist scriptures, in the original are in Pali language, a dialect of Sanskrit, and written in the same script, more than half a dozen languages spoken in India are written in the Sanskrit characters".

यसप्रकार राष्ट्रिय शिक्षा, स्वास्थ्य, पत्रकारिता, प्रजातन्त्र एवं समाज–सेवा सम्बन्धीराष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा शान्ति, विश्व–बन्धुत्व जस्ता अनेक कार्य गर्दै दोस्रो गौतमबुद्धका रुपमा विश्व–सम्मानित मानवतावादी जयपृथ्वीबहादुर सिंहको जीवनी बारे वि.सं. २०३५, २०५५ मा पुस्तकीय प्रकाशनपछि उनको व्यक्तित्वलाई नेपाल सरकारबाट प्रा.वि., नि.मा.वि. तथा उ.मा.वि. र विश्व–विद्यालय स्तरमा लागू गरी राष्ट्रिय विभूतिको सम्मान दिइनुपर्नेमा वि.सं. २०७३ मा “जयपृथ्वी मानवतावाद दर्शन” पुस्तक प्रकाशनको लगत्तै उक्त विषय–वस्तुलाई पाठ्यक्रमबाट हटाइयो । वि.सं. २०४८ आषाढमा गो.प. इतिहासकार गृष्मबहादुर देवकोटाको भनाई थियो– “संसारले त्यसैबेला चिन्यो जयपृथ्वीलाई, तर नेपालले अझै चिन्न सकेन !”

उत्तम बहादुर सिंह
मानवतावादी जयपृथ्वी जीवनी लेखक
(२०३५, २०५५, २७३ तथा जयपृथ्वी मानवतावाद दर्शन)