नेपालबाट धेरै निर्यात हुनेमा पाम तेल पहिलो नम्बरमा

नेपालबाट धेरै निर्यात हुनेमा पाम तेल पहिलो नम्बरमा

यसै पनि नेपालमा निर्यातको तुलनामा आयात धेरै हुन्छ। यसको अर्थ नेपालमा चाहिने वस्तुको उत्पादन हामी आफैले गर्न नसकेर विदेशबाट ल्याउने गर्छौ।

यसकै प्रतिफल स्वरुप नेपालको वैदेशिक वस्तु व्यापार घाटामै रहन्छ। घाटाको अन्तर पनि १२ गुणा बढी छ। अर्थात् गएको वर्ष नेपालमा आयात हुने वस्तु निर्यात हुनेभन्दा १२ गुणा धेरै मूल्यको रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउछ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गएको वर्ष नेपालमा कूल ११ खर्ब ९६ अर्बको आयात भएको छ भने ९७ अर्बकोमात्र निर्यात भएको छ।

नेपालले निर्यात गर्ने भनेर आफ्नै सूची बनाएको छ। जुन वस्तुको उत्पादन बढाउनका लागि विभिन्न सहुलियत दिने पनि घोषणा गर्दै आएको छ। यद्यपी त्यस्ता वस्तुको निर्यात कहिलै पनि फड्को मार्दैन।
निर्यात हुने हरेक वस्तुको बृद्धिदर करोडमा हुन्छ। त्यही पनि कतिपयको त घट्दै गएर धेरै निर्यात हुने २० वस्तुको सूचीबाटै हराउँदै जान्छन्।

वार्षिक ५ अर्ब बढीका निर्यात हुने वस्तु नै पाँचओटा पुग्दैनन्।

यस्तो अवस्थामा २०७५ सालमा एउटा त्यस्तो वस्तुको इन्ट्री भयो जुन एक्कासी एक नम्बरमा पुग्यो। त्यो पनि अरु ५ अर्ब हाराहारीमै निर्यात भइरहेको अवस्थामा एकैपटक १० अर्बको निर्यात् भयो। यो वस्तु थियो पाम तेल।

वनस्पति घ्यूको कुनैबेला निर्यात राम्रो अनुभव गरेको नेपालका लागि अर्को वनस्पति तेलको निर्यात फेरि चम्कियो त्यो पनि एकैपटक। २०७५ सालमा पाम तेलको निर्यात १० अर्ब ३३ करोडको भयो। सोही वर्ष कार्पेटको निर्यात ७ अर्ब थियो।
२०७६ सालमा पाम तेलको निर्यात बढेर १८ अर्ब ३१ करोडको भयो। यो नेपालको कूल निर्यातको १८ प्रतिशत हो। पामपछि दोस्रो नम्बरमा भएको कार्पेटको हिस्सा जम्मा ६ प्रतिशत छ।

यद्यपी पाम तेलको कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन। मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर नेपालमा रिफाइन पाम तेलन उत्पादन गरिन्छ। त्यसलाई भारत निर्यात गरिंदै आएको छ।

विदेशको कच्चा पदार्थ ल्याएर निर्यात हुनका लागि नेपालले दिने उत्पत्तिको प्रमाणपत्रको एउटै मापदण्ड ३० प्रतिशत मूल्यअभिबृद्धि गरेको हुनुपर्ने नियम छ। तर भारतकले यसमा शंका देखाउँदै पाम तेलको निर्यात रोकिंदिएकै ६ महिना बढी भइसक्यो।

गएको वर्ष नेपालमा १७ अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल विदेशबाट आयात भएको थियो। निर्यात भने १८ अर्ब ३१ करोडकोमात्र भएको थियो।

तर मात्रामा हेर्दा विदेशबाट कूल २३ करोड ६६ लाख ९२ हजार किलो पामको कच्चा तेल नेपालमा आएको थियो। निर्यात भने रिफाइन पाम तेल १७ करोड २ लाख किलोमात्र निर्यात भएको छ।

व्यवासयीहरुले निर्यातसँगै नेपालको आन्तरिक खपतका लागि पनि यही आयातबाट धानिरहेको बताउँदै आएका छन्। उनीहरुका अनुसार नेपालका खाद्यन्न उद्योगहरुमा कच्चा पदार्थको रुपमा पाम तेलको खपत हुन्छ। स्रोतः सेतो पाटी