बार्बादोससँग ३६ रनले हार्‍यो जमैका, सन्दीपले लिए २ विकेट

बार्बादोससँग ३६ रनले हार्‍यो जमैका, सन्दीपले लिए २ विकेट

निरन्तर खराब ब्याटिङ गरिरहेको सन्दीप लामिछानेको टिम जमैका तलावास बिहीबारको खेलमा बार्बादोस ट्राइडेन्ससँग पराजित भएको छ। बिहीबार बिहान भएको खेलमा बार्बादोससँग ३६ रनले पराजित हुँदै जमैकाले प्रतियोगितामा तेस्रो हारको सामाना गर्नपरेको छ।

पहिला ब्याटिङ गर्दै बार्बदोसले दिएको १४९ को लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो। उसका लागि एनक्रुम बोनरले ३१ र जर्मेन ब्ल्याकउडले २८ रनको योगदान दिए।

बार्बादोसका मिचेल सान्टनर, रसिद खान, जासन होल्डर रेमन रेइफरले समान २ विकेट लिए। यसअघि पहिला ब्यटिङ गरेको बार्बादोसले २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनायो। उसका लागि केल मायर्सले ८५ रनको उत्कृष्ट इनिङ खेले।

उनले ५९ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। यस्तै, सान्टनरले २० र होल्डरले १५ रन बनाए। जमैकाका लागि नेपाली युवा लेगस्पिर सन्दीप लामिछानेले पुनः उत्कृष्ट प्रदर्शन गरे। उनले सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।

सन्दीपले ५ खेलमा ७ विकेट लिएका छन्। यस्तै, मुजिब उर रहमाले ४ ओभरमा १४ रनमात्रै खर्चेर ३ विकेट लिए। बार्बादोससँगको हारसँगै जमैका पाँचौं स्थानमा झरेको छ। पाँच खेलमा २ जित मात्र निकालेको जमैकाको ४ अंक छ।

बार्बादोसको समान ४ अंक नै भएपनि रनरेटमा माथि रहँदै तेस्रो स्थानमा उक्लिलएको छ। चार खेलमा चारै जित निकालेको ट्रिनबागो नाइट राइडर्स शीर्ष स्थानमा छ।