तर्साउँदैमा सत्याग्रह रोकिँदैनः डा. केसी

तर्साउँदैमा सत्याग्रह रोकिँदैनः डा. केसी

दैलेख :-

चिकित्सा शिक्षाको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रहलाई कसैले रोक्न नसक्ने बताएका छन्। हाल जुम्लामा रहेका डा. केसीले स्थानीय तह र प्रशासनले अवरोध र घेराबन्दीको प्रयास गरे पनि सत्याग्रह नरोकिने बताए। अबको सत्याग्रह निर्णायक हुने उनको भनाइ छ।
डा. गोविन्द केसी झन्डै दुई महिनादेखि कर्णालीमा छन्। विपन्न नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्न दुर्गम बस्तीमा पुगेका डा. केसीलाई स्थानीय तहले माथिको आदेश भन्दै काममा अवरोध गरिरहेका छन्। त्यही क्रममा जुम्लामा पनि उनीमाथि प्रहरीले निगरानी बढाएको छ। आफू बस्ने होटलमै प्रहरीले घेराबन्दी गरेपछि डा. केसीले अब कसैले तर्साउँदैमा आफू पछाडि नहट्ने बताएका हुन्।

‘गरिब र विपन्न जनताको निःशुल्क उपचारका लागि कर्णाली आएको हुँ’, डा. केसीले भने, ‘तर राज्य र प्रशासनले ममाथि अवरोध गरिरहेका छन्, काम गर्न नदिएर घेराबन्दी गरिएको छ। म कसैले तर्साउँदैमा ब्याक हुने मान्छे होइन, मेरो सत्याग्रहलाई अब कसैले रोक्न सक्दैन।’ उनले आफूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै अब कर्णालीमै पुनः सत्याग्रह थाल्ने बताए। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन सञ्चालन गर्न सरकारलाई निरन्तर दबाब दिइरहेका छन्।
यही मागसहित उनले दुई वर्षअघि जुम्लामै सत्याग्रह थालेका थिए। तर त्यति बेला डा. केसीलाई सरकारले जबर्जस्ती हेलिकप्टरमा काठमाडौं पुर्‍याएको थियो। त्यस बेला प्रहरी र उनका समर्थकबीच झडप हुँदा शिक्षण अस्पतालमा भौतिक क्षतिसमेत भएको भयो। त्यस बेला सरकारले गरेको सम्झौता र सहमति हालसम्म कार्यान्वयन नभएपछि यसपटक पुनः

डा. केसीले जुम्लामा अनशन सुरु गर्ने तयारी गरेका छन्। यही कारण पनि स्थानीय प्रशासन र प्रहरीले उनीमाथि निगरानी बढाउँदै अवरोध गर्दै आएका हुन्। डा. केसीले यसअघि गत साउन ११ गते जुम्ला पुगेर आफ्ना माग पूरा गर्न एक साताको अल्टिमेटम दिएका थिए।

तर त्यसको तीन सातासम्म सुनुवाइ नभएपछि उनले साउन ३२ गतेबाट भदौ १० गतेसम्मका लागि दोस्रोपटक अल्टिमेटम दिएका थिए। बारम्बार अल्टिमेटम दिँदा पनि सरकारले सुनुवाइ नगरेपछि बिहीबारदेखि सत्याग्रह सुरु गर्ने तयारीमा रहेका डा. केसीलाई जुम्लास्थित स्थानीय प्रशासन र प्रहरीले रोकेका हुन्। त्यसपछि उनले पुनः एक साताका लागि अनशन स्थगित गरेका छन्। डा. केसीले विकट गाउँमा मात्र नभएर सदरमुकाम खलंगास्थित अस्पतालमा पुगेर सेवा गर्न नपाएको बताए। यही भदौ १७ गतेसम्मका लागि अनशन स्थगित गरेका डा. केसीले १८ गतेबाटै सत्याग्रह सुरु गर्ने बताए।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुका साथै विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानमा निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था गरिनुपर्ने माग राखेका छन्। त्यस्तै उनले अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क सेवा सञ्चालन गरिनुपर्ने र दुई वर्षअघि सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने माग अगाडि सारेका छन्। समभारः अन्नपुर्ण पोष्ट