नेकपा सचिवालय बैठक बस्दै !

नेकपा सचिवालय बैठक बस्दै !

काठमाडौं।

सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

त्यसबाहेक उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जाने इच्छाका विषयमा पनि बैठकमा छलफल हुनेछ। उपाध्यक्ष गौतमले पार्टीको निर्णय कार्यान्वयन गर्न पनि आफूलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान राखेका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराख खतिवडालाई नै राष्ट्रियसभामा लैजाने अडानमा छन्।

गौतमलाई राष्ट्रिय सभमा लैजाने नलैजाने भन्ने विषयमा बुधबार प्रधानमन्त्रीसमेत अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्री ओलीले आफू अर्थमन्त्री खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेको र त्यसका लागि खतिवडालाई नै राष्ट्रियसभामा लैजाने अडान राखेका थिए। तर प्रचण्डले भने यसअघि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न भएपछि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने बताएका थिए।

प्रचण्डले गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री सकारात्मक नभएको बताएपछि गौतम बुधबार नै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले यो विषयमा बिहीबार बस्ने सचिवालय बैठकमा छलफल गर्ने भन्दै गौतमलाई फिर्ता पठाएको गौतम निकट स्रोतले जनाएको छ।

‘प्रचण्ड कमरेडले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री सकारात्मक नभएको सुनाएपछि उहाँ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानु भएको थियो,’ गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्रीले बिहीबार बस्ने सचिवालय बैठक छलफल गर्ने बताउनु भएछ।’

गौतमले राष्ट्रियसभामा जाने इच्छा व्यक्त गरेपछि नेकपाभित्रको समिकरणले नयाँ मोड लिएको छ। नौ सदस्यीय सचिवलाय बैठकमा गौतमले जसन पक्षलाई साथ दिन्छन्, त्यही पक्षको बहुमत पुग्ने अवस्था छ।