बुडर-नाइल-बंक सडक खण्डका दुइवटा पुल अलपत्र

बुडर-नाइल-बंक सडक खण्डका दुइवटा पुल अलपत्र

कंचनपुर । कंचनपुरको कृष्णपुर नगरपालिका ०१ खार खोला र ओदाल खोला पक्की पुल निर्माणको कार्य अलपत्र रहेको छ । बुडर-नाइल-बंक सडक अन्तर्गत पर्ने यि दुई पुलहरु निर्माण सम्पन्न गर्न भएको सम्झौताको म्याद सकिएको दुई बर्ष भन्दा बढी भएता पनि पुल निर्माणको कार्य भने अझै ठप्प रहेको छ ।

पुल निर्माणको जिम्मा लिएको थेगिम गल्वा जेभीले मिति २०७४-११-१५ मा निर्माण सम्पन्न गर्ने गरि मिति २०७३-०५-१७ गते सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले खार खोला पुलका लागि ६ करोड ६९ लाख ६७ हजारमा र ओदाल खोला पुलका लागि ५ करोड ४७ लाख ४ हजारमा ठेक्का सम्झौता गरि जिम्मा लिएको थियो । 

पुल निर्माण कार्य सम्पन्न नभएका कारण बर्षातको समयमा कृष्णपुर ०१ का बासिन्दाहरुले धेरै ठुलो समस्या भोगिरहेको सोही वडाका वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बताए । उनले भने "हामिले बारम्बार निर्माण कम्पनीका प्रोप्राईटर सङ्ग पुल निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा पटक पटक खबरदारी गरिरहँदा पनि निर्माण कम्पनीका प्रोप्राईटर गङ्गाराम सुब्बाले मतलब नै गरेनन।"

बर्षातको समयमा ओहोर दोहोर गर्नै समस्या भएको र कहिले कोहि बिरामी हुदा खोला तर्न नसकेर बिना उपचार अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको समेत   वडा अध्यक्ष बस्नेतले बताए ।

वडा नम्बर ०१ कै बासिन्दा तथा  समाजिक अभियान्ता डम्बर राज भट्टले समयमै पुल निर्माण हुन नसक्दा हजारौ जनताले सास्ती खेप्नु परेको र बिकास निर्माण जस्ता कार्यमा ढिलासुस्ती र लापरबाही गर्ने जोकोही निर्माण कम्पनी या ठेकेदारलाई कालोसुचीमा राखि कारबाही गर्नुपर्ने बताए । 

बुडर-नाईल-बंक सडक खण्डमा पर्ने ओदाल  खोलामा अलपत्र पक्की पुल

सडक डिभिजन कार्यालय कंचनपुरका सुचना अधिकारी लक्ष्मण दत्त जोशीका अनुसार पुल निर्माणमा कुनै बाधा अवरोध नभएको र  निर्माण कम्पनीले लापरबाहीका कै कारण सम्झौता अनुरुप सम्झौता भएको समयमा काम सम्पन्न गर्न नसकेको जनाए ।

सुचना अधिकारी जोशीका अनुसार प्रथम पटक थेगिम गल्वा जेभी निर्माण कम्पनीका दुईवटै आयोजनाको म्याद थप गरिएको छ । खार खोलाको पुलका लागि २०७७-०८-३० र ओदाल खोला पुलका लागि २०७७-०९-२५ सम्म म्याद थप गरिएको सूचना अधिकारी जोशीले बताए ।

हाल सम्म पुलको निर्माण कार्य ६५ प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ । गत बर्ष कंचनपुरमा १२ वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको छ भने १० वटा पुल निर्माणको कार्य अन्तिम चरणमा रहेको छ। आर्थिक वर्ष ०७७/०७८ मा सडक डिभिजन कार्यालयले निर्माणाधीन १८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ जस अन्तर्गत यी दुइवटा पुल समेत पर्दछ्न । 

 बुडर-नाईल-बंक सडक खण्डमा पर्ने खार खोलामा अलपत्र पक्की पुल                                                                                                                          पुल निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीका बारेमा बुझ्न निर्माण कम्पनीका प्रोप्राईटर सुब्बालाई फोन गर्दा उनको फोन उठेन । आ.व ०७७/०७८ मा उक्त पुल सडक डिभिजन कार्यालयले निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भएपनी पुल निर्माण सम्पन्न हुने छाटकाँट भने देखिदैन ।