दैनिक तेह्र करोडभन्दा बढी घाटा

दैनिक तेह्र करोडभन्दा बढी घाटा

भरतपुर। 
कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चितवनमा पर्यटन क्षेत्रमा डेढ करोड रुपियाँ र कुखुरा पालनका क्षेत्रमा ११ करोड ६३ लाख ७५ हजार रुपियाँ दैनिक क्षति भइरहेको पाइएको छ ।
बोइलर र लेयर्स चल्लामा दैनिक दुई करोड सात लाख ८५ हजार, कुखुराको मासुमा आठ करोड १० लाख र अण्डामा एक करोड ४५ लाख ९० हजार रुपियाँ घाटा भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार सामान्य अवस्थामा भन्दा अहिले कुखुराको चल्ला, मासु र अण्डाको कारोबार घटेको र मूल्य पनि घट्दा व्यवसायीले घाटा खानु परेको छ ।
बोइलर चल्लाको लागत प्रतिगोटा ५७ रुपियाँ भए पनि अहिले बिक्री मूल्य २० रुपियाँ मात्रै छ । प्रतिअण्डा लागत ११।५३ रुपियाँ छ तर यसको बिक्री मूल्य १० रुपियाँ मात्रै छ, उहाँले भन्नुभयो “मासुको लागत प्रतिकिलो दुई सय रुपियाँ भए पनि ११० रुपियाँमा बेच्नुपर्ने बाध्यता छ । ”
नेपालमा दैनिक ३० लाख बोइलरका चल्ला र दुई लाख लेयर्सका चल्ला उत्पादन हुन्छन् । यसरी उत्पादन हुने चल्ला चितवनमा मात्रै ६० प्रतिशतभन्दा माथि छ । यस्तै कुखुराको मासु नौ लाख केजी र अण्डा ३० लाख दैनिक उत्पादन हुने सङ्घले जनाएको छ । बन्दाबन्दी र निषेधाज्ञाले बढी प्रभावित भएको चितवनको पर्यटन क्षेत्रमा दैनिक डेढ करोड रुपियाँ बराबरको क्षति पुगेको पाइन्छ ।
पर्यटनविज्ञ विश्व सुवेदी होटलहरूले लिएका बैङ्क कर्जा, यातायात सेवा र होटलमा हुने सेवा सुविधामार्फत व्यवसायीले घाटा बेहोर्नुपरेको बताउनुहुन्छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया भन्नुहुन्छ, “पर्यटन क्षेत्रले भोगेको क्षतिको विवरण अत्यासलाग्दो छ । ” कोरोनाका कारण चैत ११ बाट भएको लकडाउन बीचमा केही खुकुलो भए पनि विगत तीन हप्तादेखि निषेधाज्ञा जारी छ ।
पर्यटन क्षेत्रमा भएको लगानीको बैङ्क कर्जा, कर्मचारीको नियमित तलब, घरभाडा र बिजुली, टेलिफोनलगायत दैनिक खर्चमा उल्लेखित घाटा बेहोर्नुपरेको बताइन्छ ।
चितवनमा पर्यटकीय होटलमा ३० अर्बको लगानी छ । यसमध्ये आधाभन्दा बढी लगानी सौराहामा छ । चितवनमा अहिले २२५ वटा पर्यटकीय होटल रहेकामा सौराहामा ११० होटल रहेका छन् ।