कोरोना ‘तेस्रो लहर’ को त्रास

कोरोना ‘तेस्रो लहर’ को त्रास

काठमाडौं, भदौ २० । 
गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएकाहरू निको भए । क्वारेन्टिन पनि खाली भए । यसपछि गुल्मीको चन्द्रकोट गाउँपालिका कोरोनामुक्त भएको ठानियो ।
तर, त्यसलाई थप पुष्टि गर्न समुदाय तहमा गरिएको कोरोना परीक्षणले भने अवस्था त्यस्तो देखाएन । जनप्रतिनिधि, बैंकमा काम गर्ने कर्मचारी र सर्वसाधारण नागरिकमा समेत कोरोना देखियो ।

भदौ ६ गते समुदाय तहका २७ जनाको स्वाब संकलन गरिएको थियो । सोमबार आएको नतिजामा तीन वडाअध्यक्षसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय तहमा कोरोना फैलिएको पुष्टि भएको हो । ‘हामी त अब सामान्य स्थितिमा पुग्यौं भन्ने ठानेका थियौैं, तर वडाअध्यक्ष, बैंकका कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ, यसले कोरोनाले थप जटिलता थपेको छ,’ गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले भने ।

उनका अनुसार शुक्रबारदेखि गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाका वडा न। ४, ७ र ८ का वडाअध्यक्षसहित ७ जना अहिले होम आइसोलेसनमा छन् । यसअघि विदेशबाट आएका २४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

‘उनीहरू निको भएर घर फर्किए, अब स्थिति सहज होला भनेको झनै असहज हुँदैछ,’ गाउँपालिका अध्यक्ष खत्रीले भने । उनका अनुसार दसैंका लागि भनेर भारतसहित विदेशबाट गाउँ आउने क्रम बढेकाले कोरोनाको जोखिम थप चुलिएको छ ।

समुदाय तहमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रवेशमा कडाइ गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । दसैंका लागि नेपालभित्र र बाहिरबाट जिल्ला भित्रिने क्रम बढ्ने भएकाले १० दिन क्वारेन्टिन बस्नुपर्ने वा पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाण देखाउने नियम लागु गरिएको प्रजिअ शर्माको भनाई रहेको आजको नागरिकमा खवर छ ।