सुदूरपश्चिममा सोमबार थप ७५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा सोमबार थप ७५ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण आज ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई वटै प्रयोशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ५३६ नमुनाहरुमध्ये ७५ जनामा कोरोना पोजेटिभ देखिएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४४५ नमुनाहरुमध्ये ७४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ७१ जना र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले कैलालीको लम्कीचुहाँ नगरपालिकाका मात्रै ६३ जना पुरुषमा संक्रमण देखिएको बताए ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का तीन महिला र एक पुरुष, वडा नम्बर १३ का एकजना, वडा नम्बर २ का दुईजना, घोडाघोडी नगरपालिका वडा नम्बर १ का एकजना र कञ्चनुरको भिमदत्त नगरपालिकाका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ९१ नमुनाहरुमध्ये १ जनामा संक्रमण देखिएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालेले परिक्षण भएका नमुनाहरुमध्ये बझाङका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले जिल्लाको थलरा गाउँपालिकाका एकजनामा कोरोना पोजेटिभ देखिएको बताए । स्वाब संकलन गरी परिक्षण भएका अन्य ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उता डोटी अस्पतालको प्रयोगशालामा भने आज परिक्षण भएको छैन । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३४५ पुगेको छ ।