नेपालीलाई आकर्षक बन्दै कतार, राम्रो काम पाउन सहज

नेपालीलाई आकर्षक बन्दै कतार, राम्रो काम पाउन सहज

कतार पुगेपछि अर्घाखाँचीका नियमबहादुर विश्वकर्माले कम्प्युटर चलाएर काम गर्ने सपना देख्न छाडे । हातमा प्लस टु र कम्प्युटरमा डिप्लोमाको सर्टिफिकेट थियो । अंग्रेजी भाषा पनि जान्दथे । तैपनि उनले क्षमता अनुसारको अवसर पाइरहेका थिएनन् । कम्पनीले ‘क्लिनर’ को काम दिइरह्यो ।

कतारले कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति नचाहिने नियम ल्याएपछि भने उनी खुसी छन् । नियमबहादुरले फेरि प्रशासन सहायकको काम गर्ने सपना देख्न थालेका छन् ।
यसअघि आफ्ना कामदारलाई छाडेर आफूखुसी अन्त जान नदिन कम्पनीका लागि ‘रिलिज पेपर’ निकै बलियो हतियार थियो । जस्तो व्यहार गरे पनि श्रमिकले काम छोड्ला र अन्त जाला भन्ने डर कम्पनीलाई थिएन । कम्पनीसँग बाँधिएर श्रमिकले बाध्य भएर एकै ठाउँमा काम गर्नुपर्दथ्यो । अनुभव र क्षमता भए पनि श्रमिक पेलिएर काम गर्नुपर्थ्यो । रिलिज नचहिने प्रावधानले वर्षौंदेखि थुनिएर बसेका क्षमतावान् श्रमिक खुला भएका छन् । ‘अब कम्पनीले भिसा रद्द नै गरेर श्रमिकको इच्छाविपरीत नेपाल पठाउन सक्तैन । यो नभएपछि आफ्नो रुचिअनुसारको काम रोज्न पाएका छन्,’ कतारको श्रम मामिलाका जानकार दीपक भेटवालले भने, ‘यसले श्रमिकको आत्मविश्वास र मनोबल बढ्ने भयो ।’
सामान्य श्रमिकका रूपमा पुगेका नेपालीले कम्पनीको माथिल्लो तहमा पनि प्रतिस्पर्धा गर्न पाउने वातावरण बनेको छ । सधैंभरि तल्लो तहमा न्यून तलबमा मात्रै काम गरिराख्नुपरेन । यति भएपछि कम्पनीले आफ्ना श्रमिकलाई उचित व्यवहार गर्नुपर्ने हुन्छ । कान्तिपुरमाम खबर छ ।