विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी

विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी

चीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ। तर कस्तो जबाफी कारबाही भन्ने उसले प्रस्ट पारेको छैन। 
जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक तथा अज्ञात सङ्ख्यामा चिनियाँ सैनिक मारिएपश्चात् दुई देशबीच तनाव झन् झन् बढिरहेको छ।

सोमवार भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ। चीनको सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भने, "भारतीय सैनिकहरूले भारत-चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पाङ्गोङ् त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन्।"
वक्तव्यका अनुसार भारतीय सेनाको उक्त कदमले दुई पक्षबीच बनेको सहमतिको गम्भीर उल्लंघन गरेको छ। यसले त्यहाँ तनाव बढ्ने भन्दै प्रवक्ताले यसलाई गम्भीर भड्काउपूर्ण कदम भनेका छन्। चिनियाँ सेनाले आफ्नो क्षेत्रको सम्प्रभुताको रक्षा गर्ने उनले बताए। सो घटनाबारे भारतको प्रतिक्रिया आएको छैन। दुवै देशले सो क्षेत्रमा हजारौँ फौज परिचालन गरेका छन्। स्रोतः  बिबिसी