कञ्चनपुरमा धानबालीमा खैरो फड्के किराको प्रकोप

कञ्चनपुरमा धानबालीमा खैरो फड्के किराको प्रकोप

कञ्चनपुर : खैरो फड्के किराले कञ्चनपुरका धानबालीमा क्षति पुर्याएको छ। भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका धानबालीमा खैरो फड्के किराले नोक्सानी पुर्याएको हो।

भीमदत्त नगरपालिका–१८ र कृष्णपुर नगरपालिका–३ मा खैरो फड्के किराको प्रकोप बढी देखिएको छ। भीमदत्त–१८ गोवरैयाका किसान करुणाकर भट्टका अनुसार पहिले धानका पातहरु पहेंलो हुँदै गएको र बालाहरु आए पनि फोस्रा भएका छन्।

साथै, धानका बोटहरुनै मर्ने समस्या रहेको छ। ‘दश कठ्ठाभन्दा बढी लगाइएको धानबालीमा फड्के किराको प्रकोप देखिएपछि कृषि प्राविधिकलाई देखाएर सल्लाह लिएका छौं,’ उनले भने, ‘अन्य धानका विरुवालाई फड्के किराबाट जोगाउनका लागि विषादी छर्कने कार्यमा लागेका छौं।’

धानबाली अनुगमनका क्रममा दुईवटै स्थानीय तहका किसानको धानबालीमा फड्के किराको प्रकोप भएको पाइएको बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक सहायक अम्बादत्त विष्टले बताए।

फड्के किराको समस्या भएका किसानलाई एजदिरक्दीन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड विषादीलाई धानको फेदमा पर्ने गरी छर्कनका लागि सुझाव दिइएको उनले बताए। धेरै किसानको खेतमा खैरो फड्के किराको प्रकोप देखिएकाले किसानले सजता अपनाउनु पर्ने उनको भनाइ रहेको छ।

उनका अनुसार फड्के किराको प्रकोप भएका धानका विरुवा पुरै सुक्ने र पुरै जल्ने ९होपर बर्र्न० हुने गरेका छन्। धानबालीको मुख्य शत्रु जीवका रुपमा रहेको फड्के किरा धानको पात र आधारमा रस चुसेर खाई धानबालीलाई नोक्सानी पुर्याउने गरेको छ। धानको फेदमा पानीको सतहभन्दा माथि बस्ने गरेको किराले धानबालीलाई पुरै सखाप पार्ने गरेको पाइएको छ।

‘खेतमा बढी पानी, गर्मी मौसम र अत्यधिक युरिया मलको प्रयोगले कीराको संख्यामा बृद्धि हुने गरेको छ,’ प्राविधिक विष्टले भने, ‘रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने र नाइट्रोजन मलको बढी प्रयोग गर्नु हुँदैन।’ यसैगरी, बाली संरक्षण प्रयोगशालमा धान बालीमा लाग्ने पहेंलो गबारो किराको समस्या ल्याएर आउने किसानको संख्या अधिक रहेको छ।

त्यसपछि डढुवा र पात बेरुवा किराको समस्या लिएर आउने किसान अधिक रहेका छन्। धानबालीमा समस्या ल्याएर आउने किसानलाई किरा लाग्नुको कारण र निदानका उपाय बारे जानकारी दिँदै आएको प्रयोगशालाका प्राविधिकहरुको भनाइ रहेको छ।