कोरानाकै कहरमा ९ हजार सुदूरपश्‍चिमेली भारत प्रस्थान

कोरानाकै कहरमा ९ हजार सुदूरपश्‍चिमेली भारत प्रस्थान

कोरोना कहरकै कारण भारतबाट स्वदेश फर्किएकाहरु पुन: उतै फर्किन थालेका छन् । जीविकोपार्जनमै समस्या भएपछि दसैं लगायत चाडपर्वकै मुखमा घर फर्किएका सुदूरपश्‍चिमेलीहरु पुनस् भारततर्फ नै फर्किन लागेका हुन् ।

यसबीच भारतबाट दसैं मान्‍नका स्वदेश फर्किनेहरु पनि छन् । भारतमा कोरोना महामारीको अवस्था भयावह छ । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन ।

यस्तोमा नेपालीहरु भारत जानु झन् जोखिम भए पनि सुदूरका पहाडी जिल्लामा जीवन चलाउन सहज अवस्था नभएपछि उनीहरु भारत फर्किन लागेका हुन् । प्रत्येक वर्ष लाखौंको संख्यामा कर्णाली र सुदूरपश्‍चिमका नागरिक मजदुरीका लागि भारत जाँदै आएका छन् । पहाडी जिल्लामा खाद्यान्‍न लगायतको उब्जनीसमेत नहुने भएपछि भारतमा परिवारै जाने गरेका छन् ।

कैलालीको गौरीफन्टा नाका र कञ्‍चनपुरको गड्डाचौकी नाका हुँदै पछिल्लो ५३ दिन (साउन १ देखि भदौ २१ सम्म) मा ९ हजार २ सय ९५ जना भारत प्रवेश गरेका छन् । जसमा १६ सय ८ महिला,६ हजार ८ सय ७२ पुरुष र ८ सय १५ बालबालिका छन् ।

सुदूरका सबैजसो जिल्लामा निषेधाज्ञा जारी रहे पनि उनीहरु पैदलै सीमानाकासम्म पुगेका हुन् । सीमावर्ती सहर गौरीफन्टा र वनबसाबाट उनीहरु भारतीय बसमा विभिन्‍न गन्तव्यतर्फ लाग्‍ने गरेका छन् । प्रहरीका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट बढीजसो नेपाली भारत जाने गरेका छन् ।

यसअघि प्रहरीले भारतबाट आउने-जानेहरुको तथ्याङ्‍क राख्‍ने गरेको थिएन । तर कोरोना महामारीपछि तथ्याङ्‍क राख्‍न सुरु गरेको हो । ५३ दिनमा औसतमा १७५ जना प्रत्येक दिन गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत प्रवेश गरेको पाइएको छ ।

मजदुरीकै लागि नेपालीहरु भारतको बैंङलोर, चम्पावत, हरियाणा, सिमला, मुम्बईलगायत स्थानमा बढी जाने गरेको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । सोही अवधिमा गड्डाचौकी र गौरीफन्टा नाका हुँदै भारतबाट २४ हजार जना स्वदेश फर्किएका छन् । बाह्रखरीबाट