चीनले उत्पादन गर्‍यो यस्तो मास्क जसले आफै गर्छ ‘भाइरस मुक्त’

चीनले उत्पादन गर्‍यो यस्तो मास्क जसले आफै गर्छ  ‘भाइरस मुक्त’

चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ ।  कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मोबाइल कम्पनी शाओमीको स्वामित्व रहेको हुवामीले भाइरस मुक्त मास्क निर्माण गरेको हो 

अमेजनफिटको यो सेल्फ डिसइन्फेक्टिङ्ग मास्कको नाम ‘एइरी’ रहेको छ । यो मास्कमा कम्पनीले एक अल्ट्रा भायलेट (यूभी) लाइट जोडिदिएको छ ।

यसमा विद्युत सप्लाइका लागि एउटा प्लग समेत राखिएको छ । उक्त प्लगमा जोडेको १० मिनेटमा सो मास्क अल्ट्रा भाइलेटको माध्यमद्वारा आफैं सफा हुन्छ ।

अल्ट्रा भाइलेट किरणको माध्यमले मास्कको भित्री भाग मात्र सफा हुन्छ । बाहिरी भाग भने स्वयं प्रयोगकर्ताले नै सफा गर्नुपर्ने जनाइएको छ ।

यसको व्यावसायिक प्रयोग भने केही समय लाग्ने जनाइएको छ । हुवामीका औद्योगिक डिजाइनका उपाध्यक्ष पेङ्गताओ यूका अनुसार बजारमा आउन ६ देखि १२ महिना लाग्नेछ ।

विश्वमा कोरोनाको जोखिम बढ्दै गएपछि विभिन्न प्रकारका मास्क उत्पादन थालिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण फैलिन नदिन मास्क प्रयोग गर्नुका साथै समय समयमा हात धुन आग्रह गर्दै आएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि एन–९५ तथा यो भन्दा पनि गुणस्तरीय मास्कको प्रयोग गर्न समेत सुझाइएको छ ।