भारतीय विधानसभामा पत्रकार अर्नब गोस्वामी विरुद्ध कारवाहीको प्रस्ताव

भारतीय विधानसभामा पत्रकार अर्नब गोस्वामी विरुद्ध कारवाहीको प्रस्ताव

नयाँदिल्ली : भारतका विवादास्पद टेलिभिजनकर्मी अर्नब गोस्वामी विरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव पेश गरिएको छ ।

बीबीसी हिन्दीका अनुसार शिवसेनाका विधायक प्रताप सरनाइकले अर्नबविरुद्ध यस्तो प्रस्ताव जारी गरेका हुन् । तर उक्त प्रस्ताव पेश गरेपछि मंगलबार विधानसभामा खैलाबैला हुनुका साथै चर्को विवाद भयो । विधानसभाको काम आधा घण्टासम्म प्रभावित भएर रोक्नु परेको थियो ।

विधायक अनिल परबले रिपब्लिक टिभीका सम्पादक अर्नबलाई विधानसभाको विशेषाधिकार हनन् गरेकोमा कडा कारवाहीको माग गरेका छन् । जनप्रतिनिधि विरुद्ध कुनै पत्रकार लागेमा उनीहरुविरुद्ध कारवाही हुनुपर्ने भन्दै उनले कारवाहीको माग गरेका थिए ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवारविरुद्ध अर्नब गोस्वामी प्रयोग गरेको भाषाप्रति विधायकहरुले आपत्ति जनाएका हुन् । जहाँ विधानसभाको पनि अधिकार हनन् र अपमान गरेको बताइएको छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा अर्नबले दिएका अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनीमाथि कारवाहीको माग गरिएको हो ।

विधायक अनिलले भने, "अर्नबलाई लाग्छ कि उनी आफैँ न्यायाधीश हुन् । उद्धव ठाकरे र शरद पवारविरुद्ध उनले तँ-त म-मको शैलीमा कुरा गरे । यस सदनलाई जसरी पत्रकारको सुरक्षाको कानुन पास गर्ने अधिकार छ उसैगरी कोही पत्रकारविरुद्ध कारवाही गर्ने अधिकार पनि छ ।"

अर्नबले गैरजिम्मेवार शैलीमा बोलेको र निराधार आरोप लगाएको कुरालाई लिएर विधानसभामा आपत्ति जनाइएको हो । अनिलले प्रधानमन्त्रीविरुद्ध बोल्नेलाई कारवाही हुन्छ भने मुख्यमन्त्रीविरुद्ध बोल्नेलाई पनि हुनुपर्ने प्रस्ताव गरेका थिए ।