नेपाली दिदी-बहिनी जसले नाचेरै तोडे अमेरिकाको रेकर्ड !

नेपाली दिदी-बहिनी जसले नाचेरै तोडे अमेरिकाको रेकर्ड !

काठमाडौं। 
बच्चैदेखि नृत्यमा रूची राख्ने रुविसा र एलिसा श्रेष्ठ दिदी-बहिनीको नाम यतिखेर चन्द्रागिरी नगरपालिका-६ भन्दा धेरै परसम्म फैलिइसकेको छ। गिनिज विश्व रेकर्डधारी यी दिदी-बहिनीले नृत्यमार्फत नै आफूहरूलाई विश्वसामु चिनाइसकेका छन्‌।  २०७६ साल जेठमा लगातार दुई दिन -४१ घण्टा पाँच मिनेट) सम्म युगल नृत्य गरेर यी दिदी-बहिनीले त्यसअघि अमेरिकाका हवाइका ब्रिट र जेनिफर ग्रिसवोल्डको जोडीले बनाएको रेकर्ड तोडिदिएका हुन्‌। 
ब्रिट र ग्रिसवोल्टको जोडीले सन्‌ २०१४, डिसेम्बरमा लगातार ३८ घण्टा ३० मिनेट नृत्य गरेर वर्ल्ड रेकर्ड कायम गरेका थिए। सानै उमेरदेखि दिदी रुविसाको नृत्यमा निकै चाख थियो। घरमा गीत बज्यो की बहिनी एलिसालाई लिएर उनी नाच्‍न थालिहाल्थिन्‌। एलिसाले दिदीसँगै नाच्‍न नसकेपछि शरीर हल्लाउँथिन्‌। दिदी-बहिनीको नाच देखेपछि परिवार रमालो मान्थे। नाच्ने भनेपछि जहाँका कार्यक्रममा दुवैजना पुग्थे र सँगसँगै नाच्थे। एलिसा बाल्यकालका ती दिन सम्झिन्छिन्‌, ‘सानोमै नाच्‍ने भनेपछि भोक,प्यास र तिर्खा केही लाग्दैनथ्यो, सबै बिर्सेर नाच्‍न थाल्थ्यौँ, पुरस्कृत पनि भएका हुने गर्थ्यौं।’  बाल्यकालदेखिको सोही लगावको नतिजा यतिखेर यी दिदी-बहिनीको नाम ुगिनिज बुक अफ वर्ल्ड रेकर्डुमा छ। यसको अर्थ, नृत्य विधामा यी दिदी-बहिनीले प्रस्तुत गरेको प्रतिभा अहिलेसम्म कसैले देखाउन सकेका छैनन्‌। रुविसा र एलिसालाई उछिन्‍न खोज्नेले अब ४१ घण्टा ५ मिनेटभन्दा बढी समयसम्म लगातार नाच्‍नुपर्ने हुन्छ। साथै, यी दिदीबिहिनीले संसारभरका नृत्याङ्‌गना र यसमा रूची राख्नेहरूसामु नेपालको प्रतिष्ठा पनि बढाएका छन्‌।
नृत्य नै गरेर विश्‍वकै अब्बल बन्न त्यति सजिलो पक्कै थिएन। लगातार नाच्दा उनीहरूले अनेकथरी पीडा भोगे। एलिसा भन्छिन्‌, ‘नाच्दै गर्दा मेरो र दिदीको खुट्टा निकै सुन्निएको थियो। मान्छेहरु देख्दा पनि रिस उठ्थ्यो। अरुसँग हामी झर्किन्थ्यौँ। तर, हिम्मत हारेनौँ। किनकी, रेकर्ड तोड्ने लक्ष्य बोकेका थियौँ।’ परिवारको सहयोगले झनै हौसला बढेको उनी बताउँछिन्‌। उनका अनुसार स्वयम्भूस्थित क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा नाच्दै गर्दा प्रतिनिधि सभा सदस्य एवम्‌ पूर्व खेलकुदमन्त्री राजन कुमार केसी, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, १५ वटै वडाका अध्यक्ष र प्रदेश ३ का सांसद पुकार महर्जन लगायतको उपस्थिति थियो। यी व्यक्तिहरूको सहभागिताले उनीहरूमा झनै हौसला थपियो।​२० वर्षीया रुविसा क्यापिटल एकेडेमीमा स्नातक तह दोस्रो वर्ष र १९ वर्षीया एलिसा एआइसी कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छिन् । स्रोतः थाहाखबर