बझाङ आइपुग्यो पिसिआर मेसिन,संचालन गर्न अझैं समय लाग्ने

बझाङ आइपुग्यो पिसिआर मेसिन,संचालन गर्न अझैं समय लाग्ने

बझाङ : बझाङ पिसिआर मेसिन ल्याउने भनिएको लामो समयको पछि बझाङमा पिसिआर मेसिन आइपुगेको छ । गएको जेठ महिनामा बझाङका सबै स्थानीय तह र जिल्ला समन्वय समितिले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।

मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०/१० लाख छुट्याएका थिए । जेठ २६ गतेको निर्णयअनुसार असार १ गतेभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भए पनि नेपाल र चिनको सिमानाका केरुङमा बाढी पहिरो आउँदा करिब दुई साता मेसिन थन्किदा ढिलाई भएको हो ।

त्यसयता विभिन्न समयमा बझाङमा मेसिन पुग्ने हल्ला भएका थिए तर बाढी पहिरो र निषेधाज्ञा लगायतले मेसिन जिल्ला भित्र्याउन कठिनाइ भएको थियो । समयमै स्थानीय तहबाट रकम जम्मा भएन । त्यसपछि दुई हप्ता टेण्डर प्रक्रियामै बित्यो ।

टेण्डर भइसकेपछि पनि ठेकेदारको अर्कै प्रक्रिया बाढी पहिरो लगायतले मेसिन समयमै ल्याउन नसकिएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा सन्दिप ओखेडाको भनाइ छ । मेसिन ल्याउन सफल भए पनि मेसिन संचालन गर्न अझैं असोज पहिलो साता सम्म कुर्नुपर्ने भएको छ ।

मेसिन जडान गर्ने बायोमेडिकल इन्जिनियर हाल बैतडीको पीसीअर मेसिन जडानमा व्यस्त भएकाले तत्काल जडान गर्न असम्भव भएको उनको भनाई छ । बैतडीमा सकिनासाथ इन्जिनियर बझाङ आउने र प्रयोगशाला तयारी अवस्थामा रहेकाले इन्जिनियर आएको ३-४ दिनमै मेसिन जडान गरिने प्रमुख डा ओखेडाले बताए ।

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौ सँग १ करोड २५ लाख ४२ हजार १०० भ्याटसहित सम्झौता भएको थियो । मेसिन जिल्ला भित्रिएसँगै नमुना स्वाबको नतिजाका लागि हप्तौ सम्म कुर्नुपर्ने र सिमित रुपमा मात्रै नमुना स्वाब संकलन गर्नुपर्ने बाध्यता हटने भएको छ ।

यस मेसिनले दिनमा २०० नमुना स्वाब परिक्षण गर्न सक्दछ । अब स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको एक टोली समुदाय स्तरमा गएर नमुना स्वाब संकलन गर्ने जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले बताए ।