वडा अध्यक्षसहित परिवारका तीन जनालाई कोरोना

वडा अध्यक्षसहित परिवारका तीन जनालाई कोरोना

विराटनगर : 

विराटनगर महानगरपालिका-५ का वडा अध्यक्ष मीनकुमार आचार्यसहित परिवारका तीन जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आचार्य शारीरिक रुपमा अपांगता भएका जनप्रतिनिधि हुन्। उनको दाहिने खुट्टामा समस्या छ। निक्कै मुस्किलले उनी हिँडडुल गर्न सक्छन्।

केही समयदेखि समुदायस्तरमै फैलिएको कोरोना नियन्त्रणमा सक्रिय रहेका आचार्य संक्रमित हुने विराटनगरका दोस्रा जनप्रतिनिधि हुन्। 

उनीसहित परिवारका तीन जनाको रिपोर्ट शुक्रबारसाँझ पोजिटिभ आएको हो। संक्रमित हुने परिवारका सदस्यमा आचार्यका १४ र ९ वर्षका छोरा छन्। आचार्यले आफूलाई कोरोना संक्रमण देखिएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। 

उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई तत्काल पीसीआर परीक्षण गराउन पनि आग्रह गरेका छन्। छोरालाई ज्वरो आएपछि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि दिएकोमा परिवारका तीन जनामा कोरोना देखिएको जानकारी उनले दिए। श्रीमतीको भने रिपोर्ट केही दिनअघि नेगेटिभ आएको छ। 

संक्रमित तीनै जनाको अवस्था सामान्य रहेकाले सबै अहिले होम आइसोलेसनमै बसिरहेको सत्तारुढ नेकपाको विराटनगर–५ का अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए।