साल्ट्रेडिङले ल्याउन लागेको सहुलियतको चिनी चाँडै आउँदै

साल्ट्रेडिङले ल्याउन लागेको सहुलियतको चिनी चाँडै आउँदै

काठमाडौँ । 

साल्ट्रेडिङ  कर्पोरेसनले ल्याउन लागेको सहुलियतको चिनी १५/२० दिनभित्र आइपुग्ने भएको छ । सरकारीबाट २० हजार टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले दोस्रो टेन्डरपछि चिनी खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।
कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले कोरोना महामारी वा अन्य कुनै विपत्ति आएर सबैतिर ठप्प हुँदाबाहेक अबको १५÷२० दिनभित्र चिनी नेपालमा आइपुग्ने बताउनुभयो ।
हाल कर्पोरेसनसँग पाँच÷छ सय टनको हारहारीमा चिनी मौज्दात रहेको जनाइएको छ । खुला बजारमा प्रतिकेजी ९०÷९५ रुपियाँमा कारोबार भएको चिनी कर्पोरेसनले भने ७३ रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ ।
कर्पोरेसनको चिनी मौज्दात सकिँदै गएको र नयाँ खरिद ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला सहुलियतको चिनी छिट्टै आउने सङ्केतले बजार भाउ घट्ने आश खुद्रा व्यापारीले गरेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउनेबित्तिकै बजारमा अहिले बिक्री भएको मूल्य थोरै भए पनि घट्ने जानकारी दिनुभयो ।
कर्पोरेसनले गएको फागुनमै ५० हजार टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत सरकारसँग अनुमति मागेकामा ढिलो गरी साउन १३ मा मात्र २० हजार टन चिनी खरिद गर्न स्वीकृति दिइएको थियो । सरकारले यसपटक साल्ट ट्रेडिङलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन गरी ३० हजार टन खरिदका लागि स्वीकृति दिएको हो ।