आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

काठमाडौं।

६ महिनादेखि बन्द रहेको नियमिततर्फको आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल सरकारले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक उडान खोले पनि आन्तरिकतर्फका व्यावसायिक उडान बन्दै छ ।

सरकारले यसअघि पटक–पटक आन्तरिकतर्फको उडान खोल्ने आश्वासन दिँदै आए पनि अन्तिम सयममा आएर रोक्दै आएको छ । अब भने सरकार आन्तरिक उडान रोकेर कोरोना रोकथाम हुँदैन भन्ने निष्कर्षमा पुगिसकेको देखिन्छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसिएमसी० को बैठकले राजधानीसहित देशभर महामारीको संक्रमण बढ्दै गएको निष्कर्षसहित हवाई उडान खोल्ने तिथि सार्न सरकारलाई सुझाव दिँदै आएको थियो । अब भने आन्तरिकतर्फको उडानसमेत निश्चित मापदण्डको आधारमा खोल्न सरकारलाई दबाब थपिँदै गएको बुझिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार असअघि पनि सरकारले हवाई उडान भर्न विभिन्न निजी विमान कम्पनीलाई अनुमति दिइसकेको र विमान कम्पनीहरूले टिकटसमेत बेचिसकेकाले उडान र यात्रु संख्या तोकेर सेवा सञ्चालनको तयारीमा सरकार रहेको छ ।

यातायात व्यवसायीसमेत लामो दुरीका सार्वजनिक सवारी सञ्चालनको तयारीमा पुगिसकेको अवस्थामा हवाई उड्डयन निर्देशिका अनुसार उच्च स्वास्थ्य सतर्कता अपनाउँदै सेवा सञ्चालनमा ल्याउनुपर्ने भन्दै वायुसेवा कम्पनी र पर्यटन व्यवसायी दैनिकजसो मन्त्रालय धाइरहेको स्रोतको भनाइ छ ।

‘आन्तरिकतर्फका उडान खोल्न स्वास्थ्य प्रोटोकलसहित विमानस्थलमा दुरी कायम राख्ने लगायत तयारी छ,’ नाम नछाप्ने सर्तमा स्रोतले भन्यो, ‘लकडाउनअघि हुँदै आएका दैनिक उडान तथा अवतरण संख्यामा भने भारी कटौती हुन सक्छ ।’

स्वास्थ्य मापदण्डसहित देशभरका विमानस्थल उडानका लागि तयार रहेको अवस्थामा आन्तरिक उडान रोक्दा महामारी नियन्त्रण हुन्छ भन्नु तार्किक नभएको भन्दै विमान कम्पनीहरूले मन्त्रालयमा दबाब दिँदै आएका छन् । उनीहरूले निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलिन्छ भन्नु सरकारको गलत सोचाइ भएको तर्क गर्दै आएका छन् ।नागरिक दैनिकबाट