तत्कालका लागि कोरोना संक्रमित शून्य जिल्ला बन्यो बैतडी

तत्कालका लागि कोरोना संक्रमित शून्य जिल्ला बन्यो बैतडी

बैतडी-

बैतडी तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ । जिल्लाका सबै कोरोनाका सक्रिय संक्रमित  डिस्चार्ज भएपछि  तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको हो । 

जिल्लाका विभिन्न स्थानीय तहका ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शून्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्लाको दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८, दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ गाउँपालिकामा ५० जनामा कोरोना पुष्टि भएको थियो । अहिले कोरोना पुष्टि भएका सबै संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

पाटन नगरपालिकाका १ जना संक्रमित पनि सोमबार डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य भएको हो । गत जेठ ९ गते पहिलो पटक जिल्लामा एक थुनुवामा कोरोना पुष्टि भएको थियो ।

३ सय ७५ जना नेपाल सरकारको मापदण्डअनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोस्रो र केहीको तेस्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म ४ हजार १ सय २९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ ।

उहाँले भन्नुभयो– ‘अहिले नै जिल्ला कोरोनामुक्त भन्न सकिने अवस्था छैन । अहिलेका लागि सक्रिय संक्रमित शून्य छन् । स्वाब संकलन कार्य अझै पनि जारी छ ।’

जिल्लामा संक्रमितका आफन्तहरुको समेत स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा सबै रिपोट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको उहाँले बताउनुभयो ।