पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको  निधन भएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको एक सय वषको उमेरमा निधन भएको हो। चिकित्सकका अनुसार निमोनियाका कारण उनको निधन भएको हो।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए। उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गरेका थिए। न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गरेका थिए।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए। त्यसपछि उनी कानुन, वनलगायतका मन्त्री पनि भए। २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए।

२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो। २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए। अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए।