चाडपर्वका उत्कृष्‍ट फोटा भए पुरस्कारमा १० हजार रुपैयाँ जित्‍न सकिने

चाडपर्वका उत्कृष्‍ट फोटा भए पुरस्कारमा १० हजार रुपैयाँ जित्‍न सकिने

नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिताको आयोजना गरेको छ । चाडपर्वको समयमा विगतका दिनहरुमा जस्तो आत्मीयहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशील समिश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ बोर्डले चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालका कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ । सहभागीहरुले आगामी मंसिर १० सम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइटमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा सहभागी हुन प्रत्येक सहभागीले कम्तिमा सातवटा भिन्नाभिन्नै फोटो पठाउन पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

बोर्डले चार वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रुपमा भइरहेको छ । 

अभियानलाई व्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरु गरिएको बोर्डले जनाएको छ । हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिस्ट्रर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।