दुई सयको दही चोरीमा ७० हजारको डीएनए परीक्षण

दुई सयको दही चोरीमा ७० हजारको डीएनए परीक्षण

निर्मला हत्याकाण्डपश्चात् हाम्रो देशमा अपराधी पत्ता लगाउन डीएनए टेष्टको कुरा निकै चर्चित बनिरहेको छ । डीएनए परीक्षण हत्या तथा बलात्कारजस्ता गम्भीर अपराधमा दोषी पत्ता लगाउन गरिन्छ । तर ताइवानमा भने दही चोरलाई पक्रिनका लागि समेत डीएनए टेष्ट गरिएको खबर सार्वजनिक भएको छ ।

समाचारअनुसार, एकजना चिकित्साशास्त्रको विद्यार्थीले आफ्नो फ्रिजबाट दही चोरी भएको रिपोर्ट पुलिसमा दर्ता गराइन् । उजुरी दर्ता भएसँगै चोर पत्ता लगाउनका लागि पुलिसले सम्भावित अभियुक्तका औँठाछाप देखि डिएनए परीक्षण समेत गरेको छ ।

पुलिसको यो सक्रियताको तारिफ नगरी सुखै छैन । तर, यदि चोरी भएको दहीको मूल्य र डीएनएलगायतको अनुसन्धानमा गरिएको खर्चको तुलना गर्ने हो भने पुलिस साँच्चीकै मुर्ख रहेको आरोप लाग्न सक्छ । यस विषयमा पुलिसले आलोचना पनि खेपिरहेको छ ।

ताइवान न्यूजका अनुसार ताइपेइस्थित चाइनिज कल्चरल युनिभर्सिटीमा अध्ययनरत एक चिकित्साशास्त्रकी छात्राले आफ्नो छात्रावासको कोठामा रहेको फ्रिजबाट दहीको एउटा बोतल चोरी भएको उजुरी गरेकी थिइन् ।

कलेजबाट कोठामा फर्किएर फ्रिजभित्र हेर्दा दहीको बोतल नदेखेपछि उनले सँगै बस्ने अरु ५ जना साथीहरुलाई त्यसबारेमा सोधिन् । तर सबैजनाले उक्त दही आफूले फ्रिजबाट निकालेको कुरा स्वीकारिन् । तर जब उनले फोहोर फाल्ने भाँडोमा उक्त दहीको खाली बोतल फेला पारिन् तब उनको रिसको पारो तात्यो । अनि उनले पुलिसमा उजुरी गरिन् ।

नेपालमा भएको भए त यस्ता झारपात केशमा सायद पुलिसले झपारेर पठाउँथ्यो होला । तर ताइवानमा त्यस्तो भएन । ती छात्राको उजुरी प्राप्त भएपछि पुलिसले तत्काल एक्सन लियो । उनको कोठाको फोहोर फाल्ने भाँडोमा रहेको उक्त दहीको बोतल बरामद गर्यो । अनि उक्त बोतलमा रहेका पिंmगरप्रिन्ट लिएर त्यसको जाँच गर्ने प्रयास गर्यो । तर त्यसबाट पनि प्रतिफल नमिलेपछि पुलिसले डिएनए परीक्षण गर्ने निधो गर्यो । ती छात्रासँगै बस्ने पाँच जनाको डीएनए परीक्षण गरियो । अन्ततः दही चोरेर खाने मान्छे को रहेछ भन्ने पत्ता लाग्यो ।

यो सबै प्रक्रियामा पुलिसले झण्डै १८ हजार ताइपेइ डलर खर्च गरेको छ । जुन नेपाली रुपैयाँमा झण्डै सत्तरी हजार हो । जबकि दहीको मूल्यचाहिँ जम्मा ५९ ताइपेइ डलर पर्छ । जसको मूल्य झण्डै दुई सय रुपैयाँ पर्दछ ।

पुलिसले दही चोर त फेला पार्यो । तर अनावश्यक कुरामा स्रोत र शक्ति खर्चिएको भन्दै पुलिसको आलोचना पनि भैरहेको छ ।