सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

विनोदसिंह विष्ट
बैतडीः
गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन्। 

दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन। 

गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ। विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उनले भने। 

‘सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ,’ उनले भने। उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न रु १४ लाख ५० हजार विनियोजन गरिएको र स्थानीयले जग्गा दिन नमानेपछि सडक खन्न शुरु नभएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताए। 

रकम विनियोजन भएको १० महिना बितिसकेको र पटकपटक जग्गावालासँग छलफल गर्दासमेत उनीहरू सडक खन्न सहमत नभएका कारण सडक निर्माण कार्य अगाडि बढ्न नसकेको हो। उनले भने, ‘अझै पनि जग्गावाला जग्गा दिन सहमत भएमा सडक निर्माण कार्य अगाडि बढाइनेछ,’  यता अनशनरत वृद्धले भने सडक निर्माण कार्य शुरु नहुँदासम्म अनशन जारी राख्ने बताए।