मानव अधिकार आयोगको टोलीद्वारा सेती अञ्चल अस्पतालको अनुगमन

मानव अधिकार आयोगको टोलीद्वारा सेती अञ्चल अस्पतालको अनुगमन

धनगढी : सेवाको गुणस्तरीयतालाई लिएर प्रश्न उठ्न थालेपछि सेती अञ्चल अस्पतालमा आज राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको छ । प्रसुति वार्डमा शिशुहरुको मृत्यु भएको र उपचारमा लापरवाही भइरहेको खबर सार्वजनिक भएपछि आयोगको टोलीले आज अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले अस्पतालका प्रसुती वार्ड र बालबालिका वार्ड निरीक्षण गरेको थियो । निरिक्षण संगै वार्डका नसिंङ इञ्चार्ज तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसित पनि छलफल गरिएको थियो ।

चालू आर्थिक बर्षको चार महिनाको अवधिमा प्रसुति कक्षमा ६६ शिशुको मृत्यु भएको खबरले भ्रम फैलालएको जनाउँदै अस्पताल प्रशासनले आज बिज्ञप्ति जारी गरी अस्पतालमा ज्यान गुमाएका नवजात शिशुहरुको संख्या राष्ट्रिय औसतभन्दा निकै कम रहेको जनाएको छ ।

नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा हरेक १ हजार जिवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु हुने गरेको छ । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले शिुशु मृत्युदर अत्यन्तै थोरै रहेको जानकारी दिनुभयो ।

अस्पतालको प्रसुति बिभागको तथ्यांक अनुसार चालू आर्थिक बर्ष साउन देखि काक्ति महिनाको मसान्त सम्म २ हजार ८ सय ५८ महिला अस्पतालमा सुत्केरी भएका छन् । यी मध्ये उपचारका क्रममा २२ शिशुको मृत्यु भएको छ ।

अस्पतालको तथ्याकंमा मृत देखिएका ६६ जना मध्ये ३९ जना पेटभित्रै मृत्यु भएका, ४ जना अस्पताल ल्याउन ढिलाई भएर बाटोमै सुत्केरी हुँदा मृत्यु भएका र ७ जना अन्य अस्पतालबाट रिफर भइ आएर मृत्यु भएको संख्या रहेको डा. पाण्डेले बताउनुभयो ।

सेती अञ्चल अस्पतालमा भएको नवजात शिशु उपचार कक्षमा भेन्टिलेटर नभएकोले सामान्य हेरचाह मात्रै हुने भएका कारण अफ्ठेरो स्थितिमा रहेका बालबालिकाको मात्रै मृत्यु भएको डा. पाण्डेको भनाई छ । उहाँले जन्मिदाँ कम तौल हुनु पनि शिशिु मृत्युको कारण रहेको बताउनुभयो । 

अनुगमनका क्रममा बाहिर सुनिएको जस्तो अब्यवस्था नदेखिएको आयोगको प्रदेश कार्यालयका निमित्त निर्देशक झंकर बहादुर रावलले बताउनुभयो । उहाँले केही समस्या रहे पनि बाहिर सुनिएजस्तो भयावह अवस्था नरहेको बताउनुभयो । अनुगमनमा आयोग संगै इन्सेकका प्रतिनिधि र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।