कोरोना संक्रमित भिआइपी संख्या बढ्दो

कोरोना संक्रमित भिआइपी संख्या बढ्दो

काठमाडौं। सुरुका दिनमा विदेशबाट आउने विद्यार्थी तथा श्रमिकबाट सुरु भई समुदायस्तरसम्मै फैलिएको कोभिड–१९ संक्रमण पछिल्लोसमय उच्च पदस्थ व्यक्तिहरूमा पनि व्यापक बन्दै गएको छ । यसबाट विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, निर्वाचित जनप्रतिनिधि तथा संवैधानिक निकायका उच्च तहका व्यक्ति पनि अछुतो रहन सकेका छैनन् ।

अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् । करिब १४ दिन आइसोलेसमा बसेका प्रमुख शाक्यको पिसिआर परीक्षण गर्दा नेगेटिभ दखिएको छ । तर, उनी नियमित काममा फर्किएका छैनन् । कांग्रेस महामन्त्री डा। शशांक कोइराला भने कोरोना संक्रमित भएको एक हप्तापछि ज्वरो बढेका कारण ओम अस्पतालमा भर्ना भएका छन् । कोइरालालाई ओम अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ ।

सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायाण यादवको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यादव अहिले संक्रमण मुक्त भइसकेका छन् । यस्तै, अछाम २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले सांसद बोगटी संक्रमण मुक्त भइसकेका छन् । सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमित भएर १० दिन आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका छन् । कोरोनाबाट संक्रमित पहिलो भिआइपी भने प्रतिनिधिसभाका सदस्य प्रदीप यादव हुन् । पर्सा १ बाट प्रतिनिधि सभामा निर्वाचित यादवलाई साउन १७ गते कोभिड–१९ पोजेभिट देखिएको थियो । यादव अहिले संक्रमणमुक्त भइसकेका छन् ।

अवकाशको मुखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमण भएको थियो ।

पूर्वउद्योग राज्यमन्त्री कञ्चन वादेलाई पनि कोरोना संक्रमण भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखेर उनको उपचार गरिएको थियो । कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र अजय चौरसिया पनि अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात सचिव देवन्द्र कार्की र सहरी विकास सचिव मधुसुदन अधिकारीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । प्रदेश एकको प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण भएर अहिले संक्रमण मुक्त भइसकेकी छन् । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य पनि कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादबलाई पनि कोभिड १९ संक्रमण भएको थियो । मन्त्री यादवसँगै गरिएको परीक्षणमा प्रदेश २ को प्रदेश सांसद रीना यादव कोरोना संक्रमण भएको पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएकोमा संक्रमणमुक्त भएर नियमित काममा फर्किएका छन् । -नागरिक दैनिकबाट