नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा यसरी बस्ती बढाउँदै छ भारत !

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा यसरी बस्ती बढाउँदै छ भारत !

काठमाण्डौ । नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा भारतले बस्ति बढाउँदै छ । भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने नाममा ती बिबादित र अतिक्रमित क्षेत्रहरुमा बस्ति निमार्ण गर्दै आफ्नो भारतीय जनताहरुको संख्यालाई बृद्धि गर्नकोलागी भारतीय बस्तिहरुलाई स्थापित गर्ने विषयका समाचारहरु भारतीय मिडियाहरुमा सम्प्रेषण भएका छन् ।

लद्दाख क्षेत्रमा चीनसँग सीमा विवाद कायमै रहेका बेला भारतले चीन र नेपालसँगका सीमावर्ती गाउँहरूलाई लक्ष्य गर्दै पर्यटन तथा अन्य पूर्वाधार निर्माणका नममा आर्थिक सबलीकरणको नीति अघि सारेको हो । दार्चुलाको ब्यास गाउँपालिका १ को कौवा क्षेत्र । यसको तीन सय मिटर पर लिपुखोलापारि अतिक्रमित नेपाली भूमि गुन्जी गाउँमा भारतीय सुरक्षा क्याम्पहरु प्रष्टै देख्न सकिन्छ ।

व्यास र कुटीलगायतका गाउँमा पर्यटन प्रवर्द्धन र अन्य पूर्वाधार विकासका कार्यक्रम सुरु गर्ने भारतको तयारी छ । त्यस क्षेत्रमा पर्यटक लक्षित गतिविधिलाई खुकुलो पार्दै लगिने भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत सरकारको बझाईमा सीमावर्ती क्षेत्रमा आर्थिक र पर्यटकीय गतिविधिले नागरिकको उपस्थिति बढ्दा सुरक्षा निकायलाई सूचना प्राप्त गर्न सहज बन्ने र सीमा क्षेत्रमा हुने अतिक्रमण रोकिने रहेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही साताअघि मात्र उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्रसिंह रावत र इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबी) का महानिर्देशक एसएस डेसवालबीच सीमावर्ती क्षेत्रमा बसोबास बढाउने, सडक, मोबाइल र विद्युत् आपूर्ति र पर्यटकीय गतिविधि प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

उत्तराखण्ड राज्य सरकारले भारतीय स्थल सेना र वायु सेनाको उपस्थितिलाई पनि थप बलियो बनाउन विभिन्न निर्णयहरू गरेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसअन्तर्गत राज्य सरकारले चमोली, पिथौरागढ र उत्तरकाशीमा भारतीय वायु सेनाका लागि एअर डिफेन्स रडार जडान गर्न सहमति जनाएको छ । भारतीय वायु सेनाले एअरस्ट्रिप निर्माणको प्रस्तावसमेत गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

यस विषयमा ११ सेप्टेम्बरमा वायु सेनाका मध्य कमाण्ड प्रमुख एअर मार्सल राजेश कुमार र उत्तराखण्डका मुख्यमन्त्री रावतबीच छलफल भएको समेत पत्रिकाले उल्लेख गरेको छ । उत्तराखण्डमा बन्ने एअरस्ट्रिप जहाजलाई इन्धन र हातहतियार ओराल्न उपयोगी हुने बताइएको छ । यी पूर्वाधारको प्रमुख लक्ष्य चीनसँगको सीमावर्ती क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउनु रहे पनि नेपालसँगको सीमामा समेत निगरानी बढाउनु रहेको सहजै बुझ्न सकिन्छ ।