बैतडीमा राजमार्ग भत्काएर सडक बनाउँदा समस्या

बैतडीमा राजमार्ग भत्काएर सडक बनाउँदा समस्या

बैतडीः स्थानीय तहले मनलाग्दी हिसाबले शाखा सडक निर्माण गर्न थालेपछि राष्ट्रिय राजमार्गमा समस्या देखिएको डिभिजन सडक कार्यालय, पाटन बैतडीले जनाएको छ। 

अहिले सबै ठाउँमा राष्ट्रिय राजमार्गलाई जोडेर शाखा सडकको ट्रयाक खोल्ने कार्य भइरहेको र धेरै ठाउँमा सडक नै जोखिममा पार्ने गरेर शाखा सडक निर्माण भइरहेको डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले जानकारी दिए।  

दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा–काँडा–सुनखोला–कपडा सडक निर्माण गर्दा महाकाली राजमार्गको केही भाग भत्काएर ट्रयाक खोलेको उनले आरोप लगाए। 

यो विषयमा गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने आफूहरूले सडकलाई क्षति पु¥याउने नियतले सडक निर्माण नगरेको तर ट्रयाक खोल्दा केही प्राविधिक समस्या भएको हुनसक्ने बताए। आफूहरूले वाल लगाएर सडकमा पुगेको क्षतिलाई कम गर्ने उहाँले दाबी गरे। 

सार्वजनिक सडक ऐन २०३१ ले राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, सडक भत्काएर निर्माण गर्नुपरे धरौटी राखेर मात्रै निर्माण गर्नुपर्ने भएपनि बैतडीमा मनोमानी हिसाबले सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘बिना स्टमेट बनेका सडकले भोलिका दिनमा समस्या निम्त्याउनेछ’ यसरी राजमार्ग नै क्षति गरेर शाखा सडकले राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ। बैतडीका अधिकांश स्थानीय तहहरूले सडकलाई प्राथमिकतामा राखेर ग्रामीण सडक निर्माण गरिरहेका छन्।