नेपाली लेग स्पिनर सन्दीपको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

नेपाली लेग स्पिनर  सन्दीपको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर सन्दीप सोमबार राती संयूक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए । आइपिएलको नियम अनुसार एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण गराएपछि रिपोर्ट नेगेटिभ आएमा खेलको लागि उपलब्ध हुन पाइने छ ।

सन्दीपको तीनै रिपोर्ट नेगेटिभ आएको सन्दीपको व्यवस्थापन हेर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिकाकोटीले बताएका छन् । योसँगै आज बेलुका हुने किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा सन्दीप दिल्लीको टोलीमा छनोटका लागि उपलब्ध हुने छन् । पञ्जाब र दिल्लीबीचको खेल बेलुका ७ः४५ पछि दुबईमा हुने छ । सन्दीप शनिवार दिल्ली टोलीसँग अभ्यासमा सामेल भएका थिए ।

दिल्लीले सन् २०१८ मा सन्दीपलाई ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । दिल्लीले सुरुवाती खेलमा मौका भने दिएन । दिल्ली लिग चरणबाट बाहिरिए पछि अन्तिमका तीन खेलमा मौका दिएको थियो । तीन खेलमा सन्दीपले पाँच विकेट लिएका थिए । सन् २०१९ मा दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिँदा ८ विकेट लिएका थिए । तीन वर्षे सम्झौता अुनसार सन्दीपको यो दिल्लीमा अन्तिम सिजन हो ।

दिल्लीसँग प्रमुख स्पिनरमा रविचन्द्रन आश्विन, अमित मिश्रा र सन्दीप लामिछाने छन् । अलराउन्डरको रुपमा अक्षर पटेल छन् । जसले गर्दा अन्तिम ११ मा स्थान बनाउन केहि कठिन पर्ने देखिन्छ । जमैका तलाबाजबाट १२ विकेटका साथ उच्च प्रर्दशन गर्दै यूएई पुगेका सन्दीप उच्च मनोबल र राम्रो लयमा छन् ।