न त्यो जून जस्तै न यो घाम जस्तै।
भयो आश थोरै र सङ्का प्रसस्तै।।
गयौ झर्किए झै मिटाई निसाना।
छ के याद बाँकी बटुल्ने बहाना।।
न साझा सबैको छ पाखा पखेरा।
बिना अर्थ को हो न तेरा न मेरा।।
न कोही मलामी तिमी पर्खिनेछन।
जलाएर मुर्दा सबै फर्किनेछन।।
रहुन्जेल ज्यूँदो न सोध्यो कसैले।
भयो लास आखिर् बतायो उसैले।।
म बुझ्दैन केही भएको छ के हो।
भयो दान मेरो बिना स्वार्थ को यो।।
म माटो भए लौ म पानी भए छुँ।
गला खस्खसायो तिमी सम्झिएछुँ।।
बिताए जवानी त डुल्दै अकेली।
न देखे कसैले भिजेका परेली ।।
छ यो रम्य भूमी छ भू स्वर्ग जस्तै।
न बिर्सेँ म भूमी छ उस्तै दुरुस्तै।।
यहीँ मार्ग मेरो मलाई छ प्यारो।
छ यात्रा अनौठो र बाटो अँध्यारो।।
न त्यो क्रान्ति हारे न त्यो युद्ध जिते।
छ सत्ता चढेको हिजोको रमीते।।
कयौँ कोख रित्ता गरायौ हिजो ती।
छ जो मस्त मौला रमाई बसे यी।।