नेपालगञ्ज भन्सार कार्यालयले गर्‍यो लक्ष्यभन्दा बढी राजस्व संकलन

नेपालगञ्ज भन्सार कार्यालयले गर्‍यो लक्ष्यभन्दा बढी राजस्व संकलन

नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महीनामा उत्साहजनक राजस्व संकलन गर्न सफल भएको छ ।

कोरोना भाइरस महामारी संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजस्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालू आवको साउन र भदौ महीनामा भने लक्ष्यभन्दा अधिक राजस्व संकलन गरेको छ । 

चालू आवको पहिलो महीनामा नेपालगञ्ज भन्सार कार्यालयले रू. एक अर्ब ६८ करोड राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।

उनका अनुसार साउन महीनामा रू. ९४ करोड ७५ लाख छ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा रू. ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । भदौ महीनामा राजस्व संकलन लक्ष्य रू. एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रू. एक अर्ब ४६ करोड राजस्व संकलन भएको छ ।

बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजस्व संलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ । 

कोरोना महामारीका कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगञ्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै निरौलाले भने, ‘पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चा पदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनकरूपमा राजस्व संकलन भएको हो ।’

नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगञ्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने पूर्णरूपमा रोक लगाइएको निरौलाले जानकारी दिए । नेपालगञ्ज भन्सार कार्यालयबाट गत आव २०७६ ७७ मा रू. साढे तीन अर्ब राजस्व घाटा भएको थियो । 

रू. १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा रू. ११ अर्ब ७७ करोड आठ लाख मात्र राजस्व संकलन हुँदा रू. तीन अर्ब ६६ लाख राजस्व घाटा भएको हो । 

नेपालगञ्ज भन्सारको राजस्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ हो, लकडाउनका कारण सवारी साधन ठप्प हुँदा पेट्रोलियम पदार्थ आयात कमी भई राजस्व असुलीमा असर परेको हो’, प्रमुख भन्सार अधिकृत निरौलाले भने, ‘लकडाउनका कारण चैत, वैशाख र जेठमा राजस्व असुलीको लक्ष्य नपुगेका कारण राजस्व घाटा हुन पुगेको हो ।