नेपाली भूमिमा भवन बनाएका छैनौं, नेपालले प्रमाणीकरण गर्न सक्छः चिन

नेपाली भूमिमा भवन बनाएका छैनौं, नेपालले प्रमाणीकरण गर्न सक्छः चिन

काठमाडौं।  चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि मिचेर भवन बनाएको भन्दै सार्वजनिक भएका समाचारहरुको खण्डन गर्दै काठमाडौंस्थित चिनिया दूताबासले एक विज्ञप्ती जारी गर्दै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्य–तथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।
हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा बाहिर ल्याएको हो । दूतावासले भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।

नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो ।

टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो ।

ललुङजोङमा चीनले साना–ठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।

चीनले संरचना बनाउनुअघि ललुङजोङ क्षेत्रमा बर्खाको समयमा लिमीका बासिन्दाले चौंरी चराउन लाने गर्थे । लिमीदेखि त्यहाँ पुग्न गाडीमै करिब ४ घण्टा लाग्छ । तिब्बततिरबाट पनि चरिचरनका लागि मानिस आउँथे । करिब ४ वर्षअघि चीनले व्यापारिक प्रयोजनका लागि भनेर दुइटा घर बनाएको थियो ।

अहिले थप ९ वटा बनेका छन् । एउटा सानो घरमा सुरक्षाकर्मी बसेको र बाँकी प्रयोगमा नरहेको अध्यक्ष लामाले बताए । ‘खासमा त्यो ठाउँ दुवैतिरको चरिचरन क्षेत्र थियो, अहिले भवन बनेपछि लिमीका मान्छे ९नेपाली० लाई त्यहाँ जान रोक लगाइएको छ,’ उनले भने, ‘हराएको पिल्लर खोजी नगर्दासम्म कुन भूभाग कताको हो भन्न सकिने अवस्था छैन ।’

नेपाल–चीन सीमाअन्तर्गत हुम्ला क्षेत्रमा मात्र १२ स्तम्भ छन् । तीमध्ये ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपाली अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने हुम्ला जिल्लाको सीमारेखामा १० वटा मात्र स्तम्भ छन् ।

हेर्नुस् चिनियाँ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठः
‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ ।

मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्ने छ । चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’