नेपाली महिला क्रिकेट खेलाडीले पनि तलब पाउने

नेपाली महिला क्रिकेट खेलाडीले पनि तलब पाउने

चितवन : नेपाली महिला क्रिकेट खेलाडीले पनि तलब पाउने भएका छन्। राष्ट्रिय टोलीमा आबद्ध महिला क्रिकेटरलाई तलबको व्यवस्था गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको छ। यसअघि पुरुष खेलाडीले मात्रै तलब पाउँदै आएका थिए।

मंगलबार भरतपुरमा सम्पन्न संघको बोर्ड बैठकले १९ जना महिला खेलाडीको ग्रेड निर्धारण गरी तलब तोकेको हो। ग्रेड ‘ए’, ‘बी’ र ‘सी’मा क्रमशः ५, ८ र ६ खेलाडी छन्। महिला क्रिकेट खेलाडीको पहिलोपटक बर्गीकरण गरिएको हो। ग्रेड एमा रुविना क्षत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छन्। 

ग्रेड बीमा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजोल श्रेष्ठ र सरिता मगर छन्। यसैगरी ग्रेड सीमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले छन्। ग्रेड एका खेलाडीले १५ हजार, बीले १२ हजार र ग्रेड सीका खेलाडीका लागि १० हजार तलब निर्धारण गरेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए। 

‘हामीले इतिहासमै पहिलो पटक महिला खेलाडीका लागि तलबको व्यवस्था गरेका हौं’, उनले भने ‘क्रिकेटको विकास र विस्तारका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्न थालेका हौं।’ क्यानले पुरुष र महिला खेलाडीको बर्गीकरण गर्दै एक वर्षका लागि सम्झौता गरेको हो। खेलाडीले सन् २०२० को जनवरीबाटै तलब पाउनेछन्।

संघले १८ जना पुरुष खेलाडीको एक वर्षका लागि सम्झौता नवीकरण पनि गरेको छ। उनीहरूको पाँच हजारका दरले तलब वृद्धि गर्ने निर्णय गरेको छ। ग्रेड एमा ८ जना, ग्रेड बीमा ४ जना र ग्रेड सीमा ६ जना खेलाडी छन्। उनीहरूले क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ तलब पाउनेछन्।