राजनीतिज्ञ एवम् साहित्यकार यज्ञप्रसाद आचार्यको निधन

राजनीतिज्ञ एवम् साहित्यकार यज्ञप्रसाद आचार्यको निधन

काठमाडौंः पुराना राजनीतिज्ञ एवम् साहित्यकार तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौला सम्बन्धी समस्याबाट पीडित रही नर्भिक अस्पतालको सघन कक्षमा उपचाररत आचार्यको मंगलबार साँझ ५ः४५ बजे निधन भएको उनको छोरा सुरेशप्रसाद आचार्यले जनाए ।
मंगलबार अचानक हृदयाघात भएपछि चिकित्सकहरुले उनको थप उपचार सम्भव नभएको घोषणा गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्रको शासनकालमा गाउँ फर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद् स्थायी समितिका सदस्य समेत रहेका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका थिए ।

राजनीतिका अतिरिक्त २०११ सालको नेपाली भाषा आन्दोलन, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको लामो संलग्नता रहेको छ ।

धनकुटामा जन्मिए पनि उनले धरानबाट राजनीति सुरु गरेका उनी धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुगेका थिए ।

आचार्यका ‘मुक्तात्मा र ‘फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखेँ जे भोगेँ’ आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।