दुई सय विदेशीद्वारा भिसा शुल्क मिनाहाको माग

दुई सय विदेशीद्वारा भिसा शुल्क मिनाहाको माग

कोभिड–१९ का कारण नेपालमा अलपत्र परेका करिब डेढ दर्जन मुलुकका विदेशी पर्यटकले सरकारसँग भिसा शुल्क निशुल्क गर्न माग गरेका छन् । उनीहरूले संयुक्त आह्वान गर्दै आफूहरूसँग भएको पैसा पनि सकिएको र कोभिड–१९ का कारण स्वदेश फिर्ता हुन नसकेको भन्दैं सरकारसँग भिसा शुल्क मिनाह गरेर सहयोगको माग गरेका छन् ।
सार्वजनिक यातायातसँगै सीमा नाका बन्द रहेको, सीमित अन्तर्राष्ट्रिय उडान र महँगो भाडाका कारण स्वदेश फिर्ता हुन नसकेको भन्दै नेपालमा रहेका पर्यटकले सरकारसँग सहजीकरणका लागि माग गरेका छन् । कुल १९८ जनाले संयुक्त रूपमा नाम र देश उल्लेख गरेर सरकारसँग यस्तो माग गरेका छन् । यसमा ५२ जना चिनिया, २८ अमेरिकी, ९ जर्मन, ८ रसियाली, ७ फ्रान्सेली, ५ स्पेनीसहित बेलायती, इटालीयन लगायत करिब १ दर्जन बढी देशका नागरिक रहेका छन् ।
सहज व्यावसायिक अन्तर्राष्ट्रिय उडान र बोर्डर खुला नभएसम्म पर्यटक शुल्क नलिन सरकारसँग उनीहरूले माग गरेका छन् । “तत्काल हामीसँग केही पनि आम्दानीको स्रोत नभएको, भएको पैसा पनि सकिएकोले हामी नेपालमा बसिरहेको र भिसा शुल्क निशुल्क गर्नको लागि सरकारसँग माग गर्छौ,” संयुक्त मागमा भनिएको छ । बोर्डरहरू सिल रहेको भएका सीमित चार्ट उडानको चर्का शुल्क तिर्नसक्ने अवस्था नभएकाले गर्दा तत्काल सहज र सरल व्यावसायिक उडान नभएसम्मको लागि नेपाल बसाइको भिसा शुल्क निशुल्क गर्न उनीहरूले माग गरेका हुन् ।
अध्यागमन ऐन–२०४९ र अध्यागमन नियमावली–२०५१ को आधारमा सरकारले कुनै पनि विदेशी नागरिकको भिसा शुल्क निशुल्क गर्ने कानुनी व्यवस्था छ । भिसाको दण्ड जरिवानाको शुल्क मिनाहा गर्ने अधिकार अध्यागमन ऐन–२०४९ अनुसार विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन गरेको भए पनि पर्यटकको भिसा शुल्क मिनाह गर्ने अधिकार सरकारलाई मात्र छ । केही छोटो समयको भिसा शुल्क मिनाहा गृह मन्त्रालयले गर्नसक्ने भए पनि ठूलो रकम र लामो समयको भिसा शुल्क मिनाहा मन्त्रिपरिषद्बाट गर्ने गरिएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार नेपालमा रहेका दूतावासहरूले विशेष अनुरोधसहित भिसा शुल्क मिनाहा गर्न आएको प्रस्ताव९फाइल०लाई आवश्यक प्रक्रियासहित अगाडि बढाउन विभागले मन्त्रालयमा पठाउने गरेको छ ।
सरकारले नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय निकायका साथै अन्य केही कुटनीतिक निकायको संस्थागत अनुरोधमा भिसा शुल्क मिनाहा गर्न आएको प्रस्तावलाई स्वीकारेको विगतको अभ्यास रहेको अधिकारीले बताएका छन् । विभागले भदौ ४ देखि निषेधाज्ञा लागू गरेको समयमा भिसा नवीकरण गर्नबाट बन्चित भएका विदेशी नागरिकलाई १५ दिनसम्म कुनै पनि थप शुल्क नलिइ भिसा नियमित गर्न पाउने सुविधा प्रदान गरेको छ ।