सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार नजिक पुग्दा झण्डै ५८ सयले जिते कोरोना

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार नजिक पुग्दा झण्डै ५८ सयले जिते कोरोना

धनगढी– कैलालीका ३५ सहित सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएकोमा ७९ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवार ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।  श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एकरएक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका ८ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन्।

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढाीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नजिक पुगेको छ ।

त्यस्तै, बुधबार सुदूरपश्चिम प्रदेशमा थप १४ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार कञ्चनपुरका १२ र बैतडीका दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै प्रदेशमा पाँच हजार सात सय ८१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ८७ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय ३४, अछामका नौँ सय १२ र कञ्चनपुरका सात सय २४ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ। बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८८, बैतडीका तीन सय २८, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। संक्रमीतहरु  मध्ये १५ जनाको मृत्यु भईसकेको छ।